एमाले जग्गा विवादसम्बन्धी रिटको पेसी प्रधान न्यायाधीश राउतको इजलासमा, सुनुवाइको सम्भावना न्यून

लोकपथ
140
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गाविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र अर्का न्यायाधीश टेकप्रसाद ढुङ्गानाको पूर्ण इजलासमा पेसी परेको छ । सो रिटको पेसी ‘म’ नम्बरमा परेकाले सुनुवाइ हुने सम्भावना न्यून रहेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिट यसअघि कात्तिक २६ गते पेसी तोकिएपछि हेर्न नमिल्ने हुँदै सरेको थियो । त्यस दिन न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्दको इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीश सुवेदीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन सकेको थिएन ।

उक्त मुद्दामा कात्तिक १२ गते पहिलो सुनुवाइ भएको थियो । त्यस दिन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले जग्गा तत्काल लिने कार्य रोक लगाएको थियो ।

अधिवक्ता बस्नेतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै कात्तिक ७ गते रिट दायर गरेका थिए ।

सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेकोमा दरपिठविरुद्ध परेको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशलगत्तै रिट दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?