हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

लोकपथ
35
Shares

काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । 

पछिल्लो एक सातादेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् । 

बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केही दिनअघिदेखि बिहान समस्या रहे पनि मध्यान्ह आकाश खुल्दै जानेक्रम चलिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?