रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन अभियोग

लोकपथ
518
Shares

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वउपप्रधानमन्त्री लामिछानेलाई पोखरा र बुटवलपछि आज काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको हो ।

लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । २ कात्तिकमा काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनीमाथि तेस्रो पटक म्याद थप भएको थियो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछाने व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएका हुन् ।

जोशी पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न यसअघि काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौं महानगरपालिका–३१ घर भएकी सुनिता नेवा पक्राउ परिसकेकी छन् । स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको छ । जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यो सहकारीमा २७ हजार निक्षेपकर्ताले बचत गरेका छन् । यहाँ २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?