शारदा र गोल्छा ग्रुपले एक वर्षभित्रमा एक सय स्थानहरूमा फास्ट चार्जिङ स्टेसन विस्तार गर्ने

लोकपथ
280
Shares

काठमाडौं । शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले एक वर्षभित्रमा एक सय स्थानहरूमा फास्ट चार्जिङ स्टेसन विस्तार गर्ने भएका छन् । एक वर्षभित्रमा नेपालको डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्न शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता भएको हो ।

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्न शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डीसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस साझेदारीले एकवर्ष भित्रमा देशभरका एकसय स्थानहरूमा फास्ट चार्जर स्थापना गर्ने योजना राखेको छ । हाल देशभर १६ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् ।

उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ । हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् । शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्ने विश्वास लिइएको छ ।

यो सम्झौतासँगै शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?