योजना आयोगमा हाजिर भएलगत्तै पूर्वमुख्यसचिव डा.बैकुण्ठ अर्यालले दिए राजीनामा

लोकपथ
210
Shares

काठमाडौं । मुख्य सचिवसरहको जिम्मेवारीसहित राष्ट्रिय योजना आयोगमा सरुवा गरिएका डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।

भ्रष्टाचार मुद्दामा सफाइ पाएर हिजो आइतबार मात्र तोकिएको जिम्मेवारीमा हाजिर भएका पूर्वमुख्यसचिव अर्यालले सोही दिन राजीनामा दिएका हुन् । उनी रमानापत्रअनुसार हिजो मात्रै राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए ।

उनले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गर्न भने बाँकी नै छ । उनीमाथि अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर उनलाई गत १४ कात्तिकमा विशेष अदालतले सफाइ दिएको थियो । मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए ।

भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले उनलाई योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो ।

‘नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल स्वतः निलम्बनमा रहनु भएको सन्दर्भमा राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत (राजपत्राङ्कित विशिष्ट श्रेणी, मुख्यसचिवसरह) पद सिर्जना गरी निजको पदाधिकार उक्त पदमा सार्ने’, मन्त्रिपरिषदको निर्णयमा भनिएको थियो ।

मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?