काठमाडौं । सहकारीको रकम ठगी अभियोगमा कात्तिक २ गते काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि पछिल्लो पटक जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै उनलाई काठमाडौं ल्याइने तयारी भइरहेको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ पुर्जी जारी भएसँगै जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका लामिछानेलाई यो साता काठमाडौं ल्याउने तयारी भइरहेको हो । पोखराबाट रुपन्देही, रुपन्देहीबाट पोखरा लागिएका लामिछानेलाई फेरि काठमाडौं ल्याउन लागिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी, कास्की (पोखरा) को सूर्यदर्शन, रूपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर) को सहारा र पर्सा (वीरगन्ज) को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले लामिछानेलाई बयानका लागि काठमाडौंपछि चितवन र पर्सा पनि लानसक्ने जनाएको छ ।
यता, जिल्ला अदालत पोखराले हिरासतमा राखेर अनुसन्धान गर्न दिएको समय पनि यही मंसिर ७ गते सकिँदैछ ।
सोझो रुपमा भन्दा रवि लामिछाने पक्राउ परेको एक महिनाभन्दा बढी भइसकेको छ । उनलाई सुरुमा सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा पक्राउ गरिएको थियो । अनुसन्धानकै सिलसिलामा पछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुर पनि लगाइयो । यदि सम्पत्ति शुद्धीकरणको कसुर नलगाइएको भए पर्सि बिहीबारसम्म उनीसहितको मुद्धा सरकारी वकिलको कार्यालय मार्फत् अदालतमा लगिसक्नु पर्ने हुन्थ्यो ।
किनभने, रवि लामिछानेभन्दा अघि असोज ६ गते सूर्यदर्शन सहकारीको बचत अपचलन कसुरको अनुसन्धानका लागि गोर्खा मिडिया प्रालिका अर्का सञ्चालक छविलाल जोशी पक्राउ परेका थिए । दुवै जनामाथि एउटै कसुरमा अनुसन्धान भइरहेकाले दुबैको हकमा सोही मितिदेखि गणना हुन्थ्यो । यसको फाइदा लामिछानेलाई हुन्थ्यो नै, तर बीचमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भएकाले ६० दिनबाट बढेर ९० दिन पुगेको हो । त्यो ९० दिन भनेको पनि छबिलाल पक्राउ परेको ६ असोजको मितिदेखि लागू हुन्छ ।
प्रचलित कानुनले सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतको अनुमतिमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १७ अनुसार यस्तो कसुरमा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिएको र अनुसन्धान सन्तोषजनक लागेको अवस्थामा अदालतले पटकपटक गरेर बढीमा ९० दिनसम्म थुनामा राख्न अनुमति दिन सक्छ ।
त्यसकारण लामिछानेलाई पोखरामा अनुसन्धानका लागि हिरासतमा राख्न पाउने अधिकतम समय भनेको पुस ६ गतेसम्म हुन सक्छ । त्यसकारण रवि र छबिको मुद्दा पनि सँगसँगै लैजाने सरकारी वकिलको कार्यालयको तयारी छ ।
लामिछानेमाथि अनुसन्धान गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार, सहकारी ठगीजस्ता कसुरहरू सम्पत्ति शुद्धीकरणसँग सम्बद्ध अपराधको रूपमा पर्ने भएकाले यस्तो कसुरमा कानुनमा भएको पछिल्लो संशोधनअनुसार सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपरेको हो ।
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुनुको प्रमुख कारण भनेको गत वर्षको चैतमा संसद्बाट अन्तिम पटक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएको केही नेपाल ऐनको पछिल्लो संशोधनका कारण हो ।
सरकारले गत चैतमा लगानी सहजीकरणका लागि भन्दै अन्य कैयौँ कानुनहरूसँगै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ पनि संशोधन गराएको थियो । संसद्ले पारित गरेको पछिल्लो संशोधनले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण विभागबाट विकेन्द्रीकृत गरेर प्रहरीलाई पनि दिएको छ । कसैले ठगी वा संगठित अपराधजस्ता कसुरबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गर्न सक्ने जोखिम कम गर्न पछिल्लो कानुनले सम्बद्ध कसुरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने अधिकार दिएको थियो ।
कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया लामिछाने सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्न भए वा नभएको अनुसन्धान सकिएपछि मात्रै थाहा हुने बताउँछन् । ‘अहिले सम्पत्ति शुद्धीकरण भएको छ कि छैन भनेर ऐनले परिभाषित गरेका कुराहरूका आधारमा अनुसन्धान गरिरहेका छौँ, अनुसन्धान सकिएपछि मात्रै संलग्नताबारे थाहा हुन्छ,’ ओलिया भन्छन् ।
सम्पत्ति शुद्धीकरण कसुरमा अदालतमा मुद्दा दायर भइसकेपछि पनि थप अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था रहेको जिल्ला न्यायाधिवक्ता काफ्ले बताउँछिन् ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल भने सर्वोच्च अदालतले सामान्य अवस्थामा अनुसन्धानमा रहेको व्यक्तिमाथिको अनुसन्धान एकै पटकमा सक्नुपर्ने नजिर स्थापित गरेको बताउँछन् ।
तर पछिल्ला दिनमा भने रविमाथि नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि अनुसन्धान हुने भन्ने विषयले प्रवेश पाएको छ । प्रहरी उच्च स्रोतका अनुसार लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठुलो भएको तर त्यो रकम निकालेर खर्च भएको ठाउँ नदेखिएपछि त्यसबारे अनुसन्धान गर्न लागिएको हो ।
लामिछानेले आफ्नो खातामा जम्मा भएको रकम गैरकानुनी रूपमा अमेरिका पठाएको हुनसक्ने प्रहरीको अनुमान छ । पारिवारिक समस्या सुल्झाउन उनले अमेरिका पैसा पठाएको आशंका प्रहरीको छ ।
त्यसो त, रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले सार्वजनिक रूपमै लामिछानेले हुन्डी कारोबार गरेको हुनसक्ने अभिव्यक्ति दिएकाले पनि प्रहरीको अनुसन्धान यसतर्फ पनि गएको हो । ढकालले अमेरिकामा रहेका मोहन थापा नाम गरेका व्यक्तिले लामिछानेले हुन्डीमार्फत पठाउने रकम परिचालन गरेको बताएका थिए ।
त्यसो त अमेरिकामा घरको किस्ता तिर्न लामिछानेले नियमित रकम पठाउने गरेको विषय पूर्वपत्नी इशा लामिछानेले पाँच वर्षअघि एक लेखमार्फत सार्वजनिक गरेकी थिइन् ।
सम्पत्ति शुद्धीकरण विभागले पनि पछिल्ला दिनमा लामिछानेको सम्पत्तिबारे अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीले लामिछानेको सबै सम्पत्ति रोक्का राख्न बैंकलाई पत्राचार गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया