वुमन्स अफ द वर्ल्ड फेस्टिभल शनिबारदेखि काठमाडौंमा 

लोकपथ
42
Shares

काठमाडौं । ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’ को सातौँ संस्करण शनिबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिका र ब्रिटिस काउन्सिलले संयुक्त रूपमा मंसिर ८ र ९ गते फेस्टिभलको आयोजना गर्न लागेको काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन् ।

उपप्रमुख डंगोलले कार्यक्रममा महिलाहरूको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोसिस गरेको भन्दै वुमन्स अफ द वर्ल्ड भन्ने बित्तिकै महिला मात्रै जाने होला भन्ने नसोची सबै जनालाई आउनको लागि अपिल गरिन् । 

उनले भनिन्,‘हामीले कार्यक्रममा महिलाहरूको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोसिस गरेका छौँ । यो सबैका लागि हो पनि भन्ने चाहन्छु । ८ र ९ गते यो कार्यक्रम हुँदैछ । नक्साल नारायण चौरमा आउन आउनुहोला । वुमन्स अफ द वर्ल्ड भन्ने बित्तिकै महिला महिला मात्रै जाने होला भन्ने पनि लाग्न सक्छ । यो कदापि होइन । यहाँ सबै जनाको लागि निमन्त्रणा छ ।’ 

महानगरपालिकाका उपप्रमुख डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह पहिले नै सार्वजनिक गरिसकेका छन् ।

सन् २०११ मा लण्डनको साउथ बैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य हो ।

दुई दिने फेस्टिभलमा तीन वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ ।

पाँच वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन् । कम्तीमा पाँच सय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा एकसयजना भन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?