…अनि प्रचण्डले बाबुराममाथि कारबाहीको डण्डा चलाए

लोकपथ
238
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले दरबारकै आग्रहमा प्रचण्डले आफूमाथि कारबाही गरेका बताएका छन् ।

युद्धकालमा आफूमाथि कारबाही हुनुमा दरबारको हात रहेको बाबुरामको दाबी छ ।

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको १९ वर्षको समीक्षा सम्बन्धमा लोकपथसँग कुरा गर्दै डा. भट्टराईले दरबारकै योजनामा प्रचण्डले आफूमाथि कारबाही गरेको आरोप लगाएका हुन् ।

माओवादी युद्धकालमा आफू राजासँग होइन, दलहरुसँग मिलेर राजतन्त्रको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा लागेको तर माओवादीका अध्यक्ष प्रचण्ड राजासँग मिलेर सत्तामा जान लालायित भएकाले आफूलाई कारबाही गरिएको बाबुरामको भनाइ छ ।

आफूले गणतन्त्रको कुरा उठाएको दरबारलाई चित्त नबुझेको र बाबुराम भट्टराईलाई कारबाही गरेपछि राजासँग मिलेर प्रचण्डले सत्ता सम्हाल्ने सहमति दरबारसँग भएको पनि बाबुरामले दाबी गरे । बाबुरामले भने, ‘म राजनीतिक दलसँग मिलेर राजतन्त्रको अन्त्य गर्ने पक्षमा थिएँ । प्रचण्डजी राजासँग मिलेर सत्तामा जाने तयारीमा हुनुहुन्थ्यो । मैले त्यसको विरोध गर्दै गणतन्त्र नै पहिलो उद्धेश्य रहेको बताएको थिएँ । तर त्यो कुरा दरबारलाई चित्त बुझेको थिएन । त्यसपछि दरबारले प्रचण्डजीसँग सहमति गरेछ कि संवैधानिक राजतन्त्र मानेर जाने र प्रचण्डले सत्ताको नेतृत्व गर्ने । त्यो विषयमा मैले विरोध जनाएँ । मेरो विरोधको कुरा राजासँग पनि पुगेछ । त्यसपछि दरबारबाट सन्देश आयो कि बाबुरामलाई कारबाही गरेपछि मात्रै सम्झौता हुन्छ र प्रचण्डले सत्ताको नेतृत्व पाउँछन् । अनि मलाई प्रचण्डजीले कारबाही गर्नुभयो ।’

(डा. भट्टराईसँग गरिएको कुराकानीको पूरा अंश केही बेरमा लोकपथ डटकममा पढ्न र हेर्न सक्नुहुनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?