‘शान्ति सम्झौताले कल्पना गरे अनुसार मुलुक परिवर्तन हुन सकेन’ (भिडियोसहित)

लोकपथ
77
Shares

काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतीले विस्तृत शान्ति सम्झौताले बोकेको परिवर्तनको एजेण्डा पूरा हुन नसकेको बताएका छन् ।

विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा भएको लोकपथसँग कुराकानी गर्दै आहुतीले विस्तृत शान्ति सम्झौताले राजनीतिक परिवर्तनको जग देखा परे पनि सामाजिक परिवर्तनको जग, आर्थिक र सांस्कृतिक परिवर्तनको दिशामा मुलुकलाई लैजान नसकेको बताए ।

‘राजनीतिक परिवर्तनहरु चाँही देखा पर्यो, तर सामाजिक जग, आर्थिक जग र सांस्कृतिक जग जुन नेपाली समाजको थियो, त्यसलाई परिवर्तनको दिशातिर चाँही त्यसले लिएर गएन । त्यसकारण विस्तृत शान्ति सम्झौताको आधा उदेश्य पूरा भएको छैन,’ उनले लोकपथसँगको कुराकानीमा भने ।

त्यस्तै युद्धको अन्त्य र शान्तिको स्थापना गर्ने काममा विस्तृत शान्ति सम्झौताले भूमिका खेले पनि नयाँ संविधानसम्म आइपुग्दा शान्ति सम्झौताले कल्पना गरेको परिवर्तन आम जनताले महसु्स गर्न नसकेको बताए ।

‘अहिले आएर हेर्दा युद्धको अन्त्य गर्ने र शान्तिको स्थापना गर्ने काम त त्यसले गर्यो । तर त्यसपछि गठन भएको संविधानसभा, संविधानसभाको विघटन, दोस्रोपटक गठन भएको संविधान सभादेखि नयाँ संविधानसम्म आइपुग्दा जस्तो किसिमको व्यवस्था लिएर आयो त्यसलाई हेर्दा विस्तृत शान्ति सम्झौताले कल्पना गरेको परिवर्तन भने हुन सकेन,’ उनले भने ।

जुनबेला जनयुद्ध सुरु भयो र जतिबेला युद्धको अन्त्य भयो त्यो उचित समयमा हुन पुगेको आहुतीको तर्क छ । विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा माओवादीले शक्ति आर्जन गरिसकेको अवस्था, पूराना संसदवादी पार्टीहरु संकटग्रस्त भएको अवस्था र पूराना राज्यसत्ता सम्झौता गर्न बाध्य भएका कारण विस्तृत शान्ति सम्झौतासम्म मुलुक आइपुग्नुपर्ने अवस्था आएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?