सीआईबीद्वारा ‘हनी ट्र्याप’ प्रकरणको मुद्दा सरकारी वकिलको कार्यालयमा पेस

६ जना प्रतिवादी, निलम्बित प्रहरी निरीक्षक शाही फरार सूचीमा

लोकपथ
63
Shares
निलम्बित इन्स्पेक्टर बिनु कुमारी शाही

काठमाडौं । भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीसमेत मुछिएको ‘हनी ट्र्याप’ काण्डका प्रतिवादीविरुद्ध सरकारी वकिलको कार्यालयमा हिजो मंगलबार मुद्दा पेस गरिएको छ ।

यो विषयमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरेको भएपनि पछि यसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हात हालेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा सीआईबीकै तर्फबाट मुद्दा पेस गरिएको हो ।सीआईबीले भैंसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाही र अर्का आरोपित सुनसरीको इटहरी निवासी दर्शन पोखरेललाई फरार अभियुक्तका रूपमा मुद्दा पेस गरेको छ । भैंसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाहीको हकमा निलम्बन गरेर पक्राउ पुर्जीसमेत जारी गरिएको थियो ।

सीआईबीले प्रतिवादी बनाएर मुद्दा पेस गरेकाहरुमा जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानबाट किटान गरिएका सबै ६ जना दोषी रहेका छन् । सो घटनामा ललितपुर प्रहरी परिसरले निलम्बित प्रहरी निरीक्षक शाही, पोखरेल, प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, ताज स्लाम, सुष्मा विक र भीमदेवी थापासहित ६ जनालाई दोषी ठहर गरेको थियो ।

तर, सो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा कार्यरत एसपी कमल थापा पनि मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि छानबिन गरेको थियो । घटनामा उच्चपदस्थ प्रहरी अधिकृतसमेतको संलग्नता देखिएको भन्दै सीआईबीले पक्राउ व्यक्तिसहित कागजातसमेत लिएर थप अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि सीआईबीले प्रतिवादीमध्ये निलम्बित प्रहरी निरीक्षक शाही र घटनामा आर्थिक व्यवस्थापन गर्ने इटहरी, सुनसरीका पोखरेललाई फरार अभियुक्त बनाई मुद्दा पेस गर्दा टेलिफोन सम्पर्क र आर्थिक व्यवस्थापनका विषयमा आशंकित एसपी थापालाई तत्कालका लागि प्रतिवादी नबनाइ मुद्दा पेस गरेको हो । यद्यपि, सीआईबीले एसपी थापामाथिको अनुसन्धान भने जारी रहेको बताएको छ । एसपी थापाले सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको बयान सीआईबीलाई दिएका थिए ।

‘दुई जना प्रतिवादी र हराइरहेका केही दसी प्रमाण फेला परेपछि अन्य व्यक्तिहरूको संलग्नता पुष्टि हुनसक्छ, त्यसपछि अनुसन्धानमा दोषी देखिने व्यक्तिविरुद्ध मुद्दा चलाउन सकिन्छ,’ सीआईबीका एसपी होबिन्द्र बोगटीले भने, ‘फरार व्यक्ति पक्राउ परेपछि लिइने बयान र हराएका प्रमाण फेला परेपछि यो मुद्दामा अरू पनि तानिन सक्छन् ।’

यस्तै, ‘फरार’ रहँदै आएकी निलम्बित प्रहरी निरीक्षक शाहीले केही दिनअघि जिल्ला प्रहरी परिसर ललितपुरले गठन गरेको कारबाही सिफारिस गर्ने समितिविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएको खुलासा भएको थियो । ललितपुर प्रहरी परिसरले उनी आबद्ध घटनाको छानबिनका लागि भन्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीको संयोजकत्वमा गठन गरेको छानबिन समितिमा प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ, वरिष्ठ सई लोकेन्द्र पण्डितसहितका अधिकारीहरु सदस्य थिए । सो समितिले प्रहरी निरीक्षक शाहीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

गृह मन्त्रालयमा दिएको उजुरीमा निलम्बित प्रहरी निरीक्षक शाहीले डीएसपी अधिकारीले आफूविरुद्ध प्रतिशोध साँध्ने हिसाबले कारबाही गर्न सिफारिस गरेको उल्लेख गरेकी थिइन् । उनले उजुरीमा डीएसपी अधिकारीले केहीअघि गोदावरीमा गलत दृष्टिकोण राखेर अभिव्यक्ति दिएको भन्नेदेखि अन्य केही आचरणगत विषय पनि उल्लेख गरेकी थिइन् ।

गृह मन्त्रालयबाट उजुरीको प्रतिलिपि आएपछि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले यो घटनाको अनुसन्धान गर्नबाट जिल्ला प्रहरी परिसर ललितपुरलाई ‘आउट’ गरेका थिए । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले संगठित अपराध पनि भएकाले सीआईबीबाटै अनुसन्धान गर्न उपयुक्त हुन्छ भनी आफूहरुले लेखी पठाएको प्रष्टीकरण दिएका थिए । सीआईबीले निलम्बित प्रहरी निरीक्षक शाहीले गृह मन्त्रालयमा दिएको उजुरीमा उल्लेखित गोदावरीमा भएको भनिएको घटनालाई पनि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?