‘हिमालहरू हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ’

लोकपथ
28
Shares

काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरू चालिसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गाउँ, सहरहरूमा सरसफाइ गर्ने र शौचालय बनाउने काम सजिलो भए पनि हिमाली क्षेत्रमा यस्तो काम गर्न गाहे हुने भन्दै सरकारले आवश्यक कदमहरू चालेको बताएका हुन् ।

यस्तै, उनले यो काम सरकार एक्लैले गर्न नसक्ने भन्दै यसको लागि बृहत सहकार्य आवश्यक पर्ने बताए । उनले भने, ‘सरकारले यसको लागि हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै नै कदमहरू चालिसकेको छ । र गर्वका साथ भन्न सक्छु कि सरकार सधैँ तयार छ, हिमाललाई सफा गर्ने कुरामा तर हामीलाई अन्य संस्थाहरूको सहयोग पनि चाहिन्छ । सरकार एक्लैले सबै कामहरू गर्न सक्दैँन् । गाउँ र सहरहरूमा सरसफाइ गर्ने र शौचालय बनाउने काम सजिलो हुन्छ तर हिमाली क्षेत्रमा यस्तो काम गर्न अलि गारो नै हुन्छ त्यही कारण हामीलाई यो काम गर्नको लागि बुहत सहकार्यको आवश्यकता पर्छ । सरकार यसको लागि सधैँ तयार छ ।’

यस वर्ष कार्यक्रमको नारा ‘हाम्रो हिमालय सफा रहिरहोस्, भविष्यका नागरिक र सँगी आरोहीहरूले हिमालयलाई स्वच्छ राख्ने जिम्मेवारी लिनुपर्छ ।’ भन्ने रहेको छ । यसको साथै, उनले हिमालहरू भनेको हाम्रो पहिचान भएको भन्दै यसको रक्षा सबै मिलेर गर्नुपर्ने बताए ।

उनले भने, ‘तपाईँहरूले जुन हिमालको बारेमा कुराहरू उठाउनु भएको छ त्यसमा म र मेरो संस्था एकदमै सचेत छ । म पनि के विश्वास गर्छु भने हिमालयहरू हिमालको रूपमा मात्र होइन की यो हाम्रो जीवन, संस्कारको प्रतीक पनि हो । हामी नेपाल मात्र होइन पूरै विश्व नै हिमाल र हिमालयन संस्कारबाट प्रभावित भएका हुन्छन् । त्यसैले हिमालहरू भनेको हाम्रो पहिचान हो र हामीले यसको रक्षा गर्नुपर्छ ।’ कार्यक्रममा आरोही, आरोहण सञ्चालक र पर्यटनकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?