पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

लोकपथ
28
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । ‘सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्‍याउँदा विद्युत उत्पादन बन्द छ ।’ 

‘अन्य साना आयोजनाहरू पनि क्षति पुग्दा विद्युत उत्पादन हुन सकेको छैन,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत उत्पादन बन्द भयो । जसका कारण असोज र कात्तिकको विद्युत निर्यात प्रभावित हुनपुग्यो । यसबाट चालु आवमा राखिएको करिब  ३० अर्ब विद्युत निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’

प्राधिकरणका अनुसार माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छभने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत निर्यात क्रमशः घट्दै जाने छ । हिउँदका केही महिनामा विद्युत आयात गर्नुपर्नेछ ।  

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ । गत आवमा भारतबाट १६ अर्ब ९३ करोडको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोडको विद्युत निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा  १३ करोड बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?