शान्ति प्रक्रियापछि प्रचण्डहरु परिवारवादमा फस्नुभयो, कुरा फेर्नुभयो : लेनिन विष्ट (भिडियोसहित)

लोकपथ
294
Shares

काठमाडौं । तत्कालीन जनयुद्धका बाल लडाकु लेनिन विष्टले शान्ति प्रक्रियासँगै माओवादीले आफ्नो नीति र शिद्धान्त फेरेको टिप्पणी गरेका छन् ।

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताका विषयमा लोकपथसँग कुराकानी गर्दै विष्टले शान्ति प्रक्रियापछि माओवादीको मुल नेतृत्व परिवारवादमा फसेको आरोप लगाए ।

१० वर्षसँगै खाने, सँगै बस्ने गरेका नेताहरु पछि फेरिएलान् भन्ने कुनै कल्पना नआउने भएपनि अहिले तीनै बन्दुक बोकेर नेतृत्वलाई जोगाउन हिँडेका कार्यकर्ताहरुलाई लत्याएको बताए ।

‘उहाँहरु परिवारवादमा फस्नुभयो, कुराहरु फेर्नुभयो, यो चाँही आफू सत्तामा जानका लागि जानीबुझी गरेको प्रपञ्चजस्तो लाग्यो । त्यसअघि सँगैखाने सँगै सुत्ने, भएपछि कल्पना पनि आउने थिएन । पछि उहाँहरुको जीवनस्तरसँगै कार्यकर्ताहरुलाई लत्याउँदै परिवारवादमा फस्नुभयो । सोचिबुझी उहाँहरुले षडयन्त्र गरेको कुरा हामी कसैले थाहा पाउन सकेनौँ । हामीले थाहा पाएनौँ, जसले बुझ्न सक्ने थिएन । बुझ्न सक्नेहरुले समेत थाहा पाउनु भएन,’ उनले भने ।

लेनिन ०५९ सालमा कक्षा ६ मा पढ्ने बेलाबाट माओवादी जनयुद्धमा जोडिएका थिए । १३ वर्षका उनलाई माओवादीले गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम र माओवादी नेताहरुले गरेको भाषणबाट प्रभावित भएर आन्दोलनसँग जोडिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम मात्रै सुनेको भरमा आफ्नो ज्यानको आहुती दिन युद्धमोर्चामा होमिए पनि अहिले आएर त्यसबेला गल्ती गरिएछ कि ! भन्ने लाग्ने गरेको बताए । नेताहरुलाई जोगाउँनुपर्छ भन्ने लाग्ने कारणले नै आफूहरुलाई प्रचण्ड पशुपतिनाथ जस्तै सर्वश्रेष्ठ लाग्ने गरेको अनुभव सुनाए ।

‘प्रचण्डलाई शान्ति प्रकियामा आइसकेपछि मात्रै देखेको थिएँ । स्थानीय तहमा काम गर्ने भएपछि अन्य नेताहरुले देखेका थिए । प्रचण्ड भनेको हाम्रो लागि पशुपतिनाथ जस्तै थियो । त्यो कतिको यथार्थमा अहिले भगवानकै दर्जामा राख्नपर्ने व्यक्ति त होइन जस्तो लाग्छ । महसुस हुन्छ । सर्वहाराको मुक्तिको लागि एउटा मान्छेले यतिको स्कुलिङ गरेको छ भन्ने लाग्थ्यो,’ उनले भने ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?