कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

लोकपथ
63
Shares

काठमाडौं  । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्‍याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेकी छन्  । 

परराष्ट्र मन्त्रालयमा आज आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायहरूलाई आग्रह गरेकी हुन्। 

अहिले खेलकुदको आकर्षण र महत्त्व विश्वव्यापी रूपमा बढ्दै गएकाले अन्य क्षेत्रहरूजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कूटनीतिक प्रयास र पहलहरूलाई अगाडि बढाउन सक्ने उनको भनाइ थियो । उनले भने ‘नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात छन् । त्यसैले हामीले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिन्छ । त्यसका लागि नेपालको पर्यटन तथा खेलकुद मन्त्रालयले समन्वयात्मक रूपमा काम गर्नुपर्दछ ।’ 

गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसिडी (एसियन कोअपरेसन डायलग)को तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रूपमा राखिएको र नेपालले पनि खेल कूटनीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसै विषयमा आवश्यक परामर्श एवं छलफल गर्न सम्बद्ध मन्त्रालय एवं निकायहरूसँग आज सो बैठक राखिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?