हनी ट्र्यापको आरोपितले अदालत अगाडि पिइन् विष, प्रहरीद्वारा उद्धार

एमाले नेता महरविरुद्ध दिएकी थिइन् बलात्कारको जाहेरी

लोकपथ
1.2k
Shares

काठमाडौं । आपराधिक लाभको कसुरमा पक्राउ गर्न गएको प्रहरी एक युवतीको उद्धार गरी फर्किएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले उच्च अदालत अगाडि विषादी पिउने एक युवतीको उद्धार गरेको हो ।

नेकपा एमालेका नेता ऐन महरको जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी बझाङकी रश्मिला धामीलाई पक्राउ गर्न पुगेको थियो । उच्च अदालत बाहिर महरविरुद्ध पक्राउ पुर्जीको माग गर्दै आन्दोलन गरिरहेकी उनले सादा पोसाकको प्रहरी देख्ने बित्तिकै पक्राउ पर्नबाट जोगिन विषादी पिएकी थिइन् । त्यस लगत्तै प्रहरीले उनको उद्धार गरी अल्का अस्पताल पुराएको थियो ।

अल्का अस्पतालमा प्रारम्भिक उपचार गरेपछि उनलाई वीर अस्पतालमा लगिएको छ । उनले मुसा मार्ने विषादी खाएको अनुमान गरिएको छ ।

बझाङको बुंगल स्थायी ठेगाना भएकी धामीले यसअघि एमाले नेता ऐन महरविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । तर प्रहरीले महरविरुद्ध ल्याइएको जबरजस्ती करणीको जाहेरी दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा समेत जाहेरी दर्ताका लागि पुगेकी थिइन् । तर जिल्ला सरकारी वकिल कार्यालयले समेत उनको जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

उच्च अदालत पाटनमा बुधवार पेसी रहेको कारण उनी पूर्व न्यायाधीश भुवन गिरीकी कान्छी पत्नी आरती रावल सहित केही अभियन्तासँग नाराबाजी गर्न गेटबाहिर पुगेकी थिइन् । सोही समयमा रश्मिला धामी भनेको को हो भन्दै प्रहरी पुगेपछि उनले मुसा मार्ने विषादी सेवन गरेकी थिइन् ।

यता रश्मिला धामीले आफूलाई धाक धम्की दिई एक करोड रुपैयाँको बार्गेनिङ गरेको भन्दै एमाले नेता ऐन महरले जिल्ला प्रहरी परिसर, काठमाडौंमा धामीविरुद्ध आपराधिक लाभको कसुरमा जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जी लिई धामीमाथि अनुसन्धान गर्ने तयारी भएको थियो । आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाए लगत्तै धामीले मुसा मार्ने औषधी सेवन गरेकी हुन् ।

धामीले फोन तथा ह्वाट्सएपमा म्यासेज पठाएर आफूसँग एक लाख रुपैयाँको बार्गेनिङ गरेको महरको जाहेरीमा उल्लेख छ ।
धामी र महरको विवाद करिब २ वर्षदेखि चलिरहेको छ । धामीले महरमाथि बलात्कारको आरोप लगाएकी छिन् भने महरले धामीमाथि आपराधिक लाभ लिएको आरोप लगाएका छन् । धामीले महरसँग एक करोडको बार्गेनिङ गरेको र करिब १५ लाख रुपैयाँ बुझाइसकेको बताएका छन् । महरका भाइले धामीको बैङ्क खातामै करिब १५ लाख रुपैयाँ बुझाइसकेको श्रोतको दाबी छ ।

तर पटक पटक बार्गेनिङ गरी बलात्कारको कसुरमा जेल हालिदिने धम्की दिएपछि महरले धामीविरुद्ध जाहेरी दिएका थिए ।
हाल धामीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?