काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेद्वारी फिर्ता लिएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन तालिकाअनुसार आज उम्मेद्वारलाई आफ्नो उम्मेद्वारी फिर्ता लिने समय दिइएको थियो । सोही समय सीमा भित्र कांग्रेस र एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए ।
उनका अनुसार अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्तीलाई वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
अब पुथाउत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।
उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्र चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट केशकुमारी तुलाचन र माओवादी केन्द्रबाट नरपुरा बुढाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत हमालले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट उम्मेद्वारी दिएकी सुनिता बुढा, स्वतन्त्र उम्मेद्वार मोहनभक्त बुढा, श्रीदेवी सुनार, भीमकुमारी पुन र कोपिला पुन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेसबाट उम्मेद्वार बनेकी तुलाचन नेकपा एमालेको जिल्ला कमिटी उपसचिव रेहेकी छन् । उनी कांग्रेसबाट रुख चिह्न लिएर चुनावी मैदानमा हुन् ।
गत भदौ २८ गते काठमाडौंबाट रुकुमपूर्व आउँदै गर्दा बागलुङमा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं वडाध्यक्ष जसबहादुर श्रीपाइलीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया