आन्तरिक श्रोतको प्रभावकारी परिचालन भएमा दिगो विकास सम्भव छ : अध्यक्ष ढकाल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महासंघमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवर्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तर्क्रियामा अध्यक्ष ढकालले दिगो विकासका लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्डनै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए ।

ढकालले विगत केहि बर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवर्धन सम्वन्धि विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको र यस मुद्दाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।

उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल बढाई व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्नेतर्फ ध्यान दिइएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए ।

अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रत्यक्ष सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवशायजन्य कृयाकलापहरु सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनुपर्नेमा जोड दिए ।

आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित हुनु भएको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई सम्बोधन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताए ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कार्वाहीहरुलाई पारदर्र्शी बनाई समिक्षा हुनु पर्ने बताए ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सार नै औद्योगिक वातावरण प्रवर्धनको लागि भन्दै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी, राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्वन्धि नीतिहरु लगानीमैत्री बन्दै आएको बताउँदै भयो । कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?