नेकपा बहुमतद्वारा दाङका ‘मिटरब्याजी’ बस्नेत दम्पतीमाथि ‘जनकारबाही’

लोकपथ
357
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ‘मिटरब्याजी’ घोराही उपमहानगरपालिका–१५ दाङ बस्ने माधबा बस्नेत र उनका पति धर्म बस्नेतलाई ‘जनकारबाही’ गरेको छ । सर्वसाधारण जनतालाई शक्ति र पैसाको आडमा दुःख दिने गरेको भन्दै नेकपा बहुमतले ‘जनकारबाही’ गरेको हो ।

सो पार्टीले बस्नेत परिवारलाई १५ दिनभित्र जनताको घर जग्गा निःसर्त फिर्ता गर्न र चेक अनादरलगायतका मुद्दा फिर्ता गर्न पनि निर्देशन दिएको छ । निर्देशन अवज्ञा गरे निर्मम कारबाही गर्न आफूहरु बाध्य हुने विज्ञप्ति मार्फत् नै चेतावनी दिएको छ । साथै नेकपा बहुमतले राज्यका निकायलाई मिटरब्याजको पीडालाई अविलम्ब सम्बोधन गर्न पनि आग्रह गरेको छ । सो पार्टीले निकालेको विज्ञप्तिमा बिजौरी–२ स्थायी ठेगाना भई हाल घोराही–१५ बीपी चोक बस्ने ५७ वर्षीया माधबा बस्नेतलाई दाङ जिल्लाकै नामुद मिटरब्याजी भनिएको छ ।

बस्नेत दम्पतीले आफ्ना नजिकका नातेदारलाई अष्ट्रेलिया लाने, अमेरिका पठाइदिनेलगायतका विभिन्न लोभलालच देखाइ मिटर ब्याजको लुटधन्दा मच्चाइरहेको सो पार्टीको दाबी छ । मिटर ब्याजको साम्राज्य खडा गरी सिदासादा जनतामाथि लुट मच्चाउँदै आएका माधबा बस्नेतले परिवारभित्रकै सहोदर जेठाजु नरबहादुर बस्नेत, भाइ कमलबहादुर केसी, भाइ बुहारी पार्वता केसी, भदैनी ममता केसी (डीसी), नन्दे भाइ तिलकबहादुर महरा क्षेत्री, भतिजी ऋषा बोहरा, नन्द यामकुमारी बस्नेत महरा, बसन्ता शाहीलगायतको सहयोग र संलग्नतामा मिटर ब्याजको धन्दा चलाइ संगठित अपराध गरेको नेकपा बहुमतको ठहर रहेको छ ।
बस्नेत दम्पतीका दुई सन्तानमध्ये छोरा शिशिर बस्नेत अष्ट्रेलियामा छन् भने छोरी शर्मिला तेस्रो विवाह गरी अष्ट्रेलिया जाने तयारीमा छिन् ।

नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका छोरा शिशिर र अष्ट्रेलियामा गएर नर्सिङ पढी पीआर लिएकी छोरी शर्मिला उतै बस्ने भएपछि यहाँको धन पैसा हुन्डी मार्फत त्यता पठाउने गरेको गम्भीर अपराध पनि विज्ञप्तिमार्फत् लगाइएको छ ।
माधबालाई केही समयअघि प्रहरीले पक्राउ गरी अनुचित लेनदेन तथा मिटरब्याजसम्बन्धी अनुसन्धानसमेत गरेको थियो । तर तत्कालीन जिप्रका दाङका डीएसपी रामप्रसाद तिमिल्सिनाले मोटो रकम लिई आफूलाई छोडेको र सम्पत्ति शुद्धिकरणमा मुद्दा नलगाइ सहयोग गरेको र थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको उनको भनाइ छ । उनले शक्तिकै आडमा सर्वसाधारणलाई दिनरात मानसिक यातना दिने गरेकी छन् ।

त्यसो त उनका श्रीमान धर्मबहादुर बस्नेतले सरकारी सेवाबाट केही समयअघि राजीनामा दिएका थिए । राजीनामा दिए पनि राज्यको संयन्त्रमा आफूहरुको राम्रो पहुँच भएको भन्दै उनीहरुले आफ्नाविरुद्ध लाग्ने सबैलाई तह लगाउने धम्की दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?