काठमाडौंमा पाँच हजार सुरक्षाकर्मी परिचालन, एमालेसहित छुट्टाछुट्टै तीन समूह सडकमा

लोकपथ
476
Shares

काठमाडौं । सत्ताको नेतृत्व गरेको दल एमाले र अन्य दुई वटा समूहले आज शुक्रबार काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गर्ने भएपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार, तीन ठाउँमा प्रदर्शन हुने भएकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन आज ५ हजारभन्दा बढी प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

त्यस्तै ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नाका लागि ५ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । ‘आज काठमाडौंका तीन स्थानमा फरक फरक समूहले प्रदर्शन गर्ने जानकारी पाइएकाले हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ, आम नागरिकको जनजीवनमा कुनै अप्ठेरो नपरोस् भनेर ५ हजारभन्दा बढी प्रहरी परिचालन गरेका छौँ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यले भने । माइतीघरमा केही दिनदेखि सहकारीपीडितहरूले प्रदर्शन जारी छ । यसलाई आज पनि निरन्तरता दिइएको छ ।

यस्तै एमालेले काठमाडौंको दरबारमार्गमा जनसभा आयोजना गरेको छ । सो जनसभामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शंकर पोखरेलले मन्तब्य दिने कार्यक्रम छ । यसअघि एमालेले र्‍याली निकाल्ने भएको छ । उसले भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ । जनसभामा एक लाख मान्छे उतार्ने एमालेको तयारी छ । त्यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि आज प्रदर्शन गर्ने भएको छ । हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले कोटेश्वरमा प्रदर्शन गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?