काठमाडौं । सभामुख देवराज घिमिरेले सिके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेकी प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदबाट हटाउन इन्कार गरेका छन् । सभामुख घिमिरेले सांसद लाभलाई पार्टीले गरेको अनुशासनको कारबाही पद जाने प्रकृतिको नभएको र पार्टीबाट निकाल्न राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान प्रयोग नभएको उल्लेख गर्दै उनलाई पदबाट हटाउन इन्कार गरेका हुन् ।
सांसद लाभलाई पदबाट हटाउन जनमत अध्यक्ष राउतले तेस्रो पटक संसद सचिवालयमा पत्र पठाएपछि सभामुख घिमिरेले सो इन्कारी गरेका हुन् । जनमत अध्यक्ष राउतले संसद सचिवालयलाई पठाएको पत्रमा सांसद लाभले ‘ठेकेदारसँग पैसा मागेको, पार्टी फुटाउन छलफल अघि बढाएको आरोप’ लगाइएको छ । यद्यपि समानुपातिक सांसद लाभले उक्त आरोप अस्वीकार गरेकी थिइन् । जनमत अध्यक्ष राउतले ८४ पृष्ठको कागजातसहित सांसद लाभलाई पदबाट हटाइदिन सभामुखलाई निवेदन दिएकोमा सभामुख घिमिरेले ती कागजातमाथि नै प्रश्न उठाएका छन् ।
‘कसैमाथि कुनै कारबाही गर्न कागजात मिलाएर हुँदैन, सम्बन्धित व्यक्तिले गरेको गल्ती देखिने प्रमाण हुनु पर्दछ, गोमा लाभ सापकोटालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निस्कासन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, ऐजन ऐनको दफा ३२ को उपदफा (१) र दफा २८ को उपदफा (१) मा उल्लेख भए बमोजिमको पूर्वसर्त पूरा नभएको एवं दलबाट निस्कासन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानूनले परिभाषित गरेको कसूर गरेको भन्नेसमेत नदेखिएको र गोमा लाभ सापकोटामाथि गरिएको भनिएको कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरू विश्वसनीय नदेखिएको अवस्थामा दफा ३४ बमोजिम दिइएको सूचना कानूनी प्रबन्ध विपरीत भै त्रुटिपूर्ण देखिएन आएको छ,’ सभामुखले गरेको निर्णयमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया