विश्वको ध्यान खिचिरहेकी ‘हाना’ : को हुन् ‘माओरी’ र के हो ‘हाका’ ?

लोकपथ
679
Shares

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एक युवतीले संसद्मा कागज च्यातेर चर्कोचर्को स्वरमा कराइरहेको भिडियो सार्वजनिक भएसँगै त्यसको चर्चा विश्वभर चुलियो । ती युवतीको शैली हेर्दा संसद्मा कुनै ठूलै हंगामा गरेजस्तो देखिन्छ ।

उनी आफ्नो सिटबाट उठेर हातमा कम्प ल्याउँदै अनुहारको भाव आक्रामक गर्दै अघि बढ्छिन् । उनलाई अन्यले पनि साथ दिन्छन् र त्यहाँको दृष्य रोचक बन्छ । अन्य सांसदहरु समेत माओरी समुदायको प्राचिन नृत्य ‘हाका’ प्रदर्शन गर्दै उनकै शैलीमा एकै स्वरमा कराउँदै नाच्न थाल्छन् । त्यसले त्यहाँको माहोल छुट्टै रोचक बन्छ ।

उक्त भिडियो सार्वजनिक भएसँगै संसारभर त्यसको चर्चा चुलिएको मात्र छैन, त्यसरी कराउने ‘हाना’ उनको दल र समुदाय ‘माहोरी’ र माहोरी समुदायको प्राचिन नृत्य ‘हाका’ बारे चासो बढेको छ । संसारको ध्यान खिच्ने २२ वर्षीया युवती एवं न्यूजिल्याण्डकी सांसद हुन् हाना राहावति माइपी क्लार्क । न्यूजिल्याण्डको १७० वर्षको संसदीय इतिहासमा हालसम्मकै कान्छी सांसद हुन् हाना । सन् २०२३ अक्टोबरमा सम्पन्न त्यहाँको आम निर्वाचनमा २१ वर्षकै उमेरमा उनी सांसदमा निर्वाचित भएकी थिइन् । त्यसो त उनले निर्वाचित भएपछिको संसद्को पहिलो भाषणमा समेत सोही नृत्य देखाएर चकित पारेकी थिइन् ।

त्यसपछि चर्चामा चुलिएकी हाना त्यहाँको आदिवासी ‘माओरी’ समुदायबाट प्रतिनिधित्व गर्छिन् । गत निर्वाचनमा माओरी समुदायको प्राचिन संस्कार, संस्कृति र अधिकारको स्थापित गर्ने प्रतिबद्धता गरेका कारण मत दिएर संसद्मा पठाएका थिए ।
आजभन्दा १८४ वर्षपहिले अर्थात् सन् १८४० मा बेलायत र माओरी समुदायको प्रतिनिधिबीच एउटा सन्धि भएको थियो ।

बेलायतका राजा र माओरी प्रमुखहरूबीच हस्ताक्षर भएको उक्त सन्धिलाई ‘ते तिरिती ओ वैतांगी’ (वैतांगी सन्धि) का नाम दिइएको छ  । सन्धिमा माओरी आदिवासीको भूमिसम्बन्धी अधिकार र सांस्कृतिक स्वायत्तताको संरक्षणको प्रतिबद्धता गरिएको थियो । तर दुई शताब्दी हुन लाग्दा पनि सन्धि कार्यान्वयन हुन नसकेको भन्दै उनीहरुले पटकपटक हिकोई (शान्तिपूर्ण विरोध र्‍याली) गर्दै आइरहेका छन् ।

हानाले च्यातेको कागज ‘सन्धि सिद्धान्त विधेयक’ को ड्राफ्ट थियो । माओरी समुदायको अधिकार खारेजीका लागि ल्याइएको विधेयक संसद्मा पारित हुने भएसँगै देशभर माहोरी समुदायले त्यसको खुलेर विरोध गरिरहेका थिए । संसद् भवन बाहिर हजारौँको संख्यामा माओरीहरुले विरोध गरिरहेका थिए । त्यहाँका स्थानीय समाचार माध्यमका अनुसार संसद्मा पेस हुन लागेको उक्त प्रस्तावित विधेयकविरुद्ध न्युजिल्याण्डको संसद् भवन बाहिर मंगलबार करिब ५० हजार मानिस भेला भएका थिए । ९ दिनसम्म चलेको हिकोई (शान्तिपूर्ण विरोध र्‍याली) को अन्तिम दिन मंगलबार आदिवासी माओरीले संसद् भवन अगाडि बृहत् प्रदर्शन गरेका हुन्, जुन न्यूजिल्याण्डमा हालसम्म गरिएको सबैभन्दा धेरै मानिसहरुको भेला र विरोधका रुपमा लिइन्छ । माओरी झण्डाको रङको पहिरन लगाएर न्यूजिल्याण्डको राजधानी वेलिङ्टनका वरिपरिका क्षेत्रहरुमा ‘हाका’ नृत्यसँगै परिक्रमा गरेका थिए  । हाका एक हजार वर्ष पुरानो प्राचिन नृत्य हो । ऊबेलादेखिको दमनको विरोधको रुपमा रहेको हाका एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै आइरहेको छ । ९ दिनअघि देशको उत्तरी क्षेत्रबाट सुरु भएको विरोध र्‍याली विभिन्न शहरहरू हुँदै राजधानी आइपुगेको थियो । त्यसमध्ये कतिपय माओरीहरु खाली खुट्टा नै त्यहाँ आएका थिए ।

त्यसो त अहिले मात्र होइन विभिन्न समयमा माओरीहरुले आफ्नो अधिकारका लागि विभिन्न समयमा प्रदर्शन गर्दै आइरहेका छन् । सन् १९७५ मा भूमिसम्बन्धी अधिकार र सन् २००४ मा वृहत् रुपमा समुन्द्र र समुन्द्री तटको जमिनसम्बन्धी स्वामित्वका लागि प्रदर्शन गरेका थिए । त्यसबेला भन्दा अहिले दोब्बर संख्यामा माओरीहरुको भेला भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बाहिर हजारौँको संख्यामा माओरीहरुले नारा लगाइरहँदा संसद् भवन भित्र भने उक्त विधेयकमाथि छलफल चलिरहेको र पारित गर्ने तयारी थियो । न्यूजिल्याण्डको संसद्का सभामुख गेरी ब्राउनलीले माओरी पार्टीबाट हानालाई उक्त विधेयकका विषयमा बोल्न समय उपलब्ध गराएका थिए । हानाले सुरुमै उक्त कागज च्यातेर माओरी समुदायको युद्ध र संघर्षमा आधारित प्राचिन ‘हाका’ नृत्य देखाइन् ।

जसलाई उनको दलमात्र होइन अन्य दलका सांसदहरुले समेत समर्थन गरे । सभामुख गेरी ब्राउनलीले केहीबेर संसद् बैठक स्थगित गरेर हानालाई केही घण्टाका लागि सांसदबाट समेत निलम्बन गरेका थिए ।

कसरी राजनीतिमा उदाइन् हाना ?

हाना न्यूजिल्याण्डको राजनीतिमा युवाहरुको प्रतिनिधित्व गर्ने चर्चित युवा नेतृ हुन् । आदिवासी समुदायको अधिकारका लागि निरन्तर आवाज उठाउने हानाले त्यसअघि नै विभिन्न आन्दोलनहरुमा सहभागी हुँदै आफ्नो समुदायको अधिकारका लागि लड्दै आइरहेकी छिन् । गत निर्वाचनमा भने उनको दल ते पाती माओरीले उनका बुबा र उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो । तर त्यहाँका हजारौँ युवाहरुको ध्यान खिच्न सफल भएका कारण पार्टीले उनका बुबालाई भन्दा उनलाई नै उम्मेदवारका रुपमा अघि सारेको थियो ।

स्मरण रहोस्, सन् २००४ मा माओरी समुदायले आफ्नो अधिकारका लागि लड्ने क्रममा पार्टी स्थापना हुन पुगेको थियो । १० लाखको हाराहारीमा रहेका माओरी समुदायको प्रतिनिधित्व गर्ने पार्टी ते पाती माओरीबाट हाल ६ जना निर्वाचित भएका छन् । १२३ सदस्यीय न्यूजिल्याण्डको संसद्मा कम संख्या रहेको माओरीले सानो संख्याबाटै पनि संसारको ध्यान खिच्न सफल भएको छ ।

यसअघि र अहिलेका पनि प्रधानमन्त्री रहेका किस्टोफर लुक्सोन नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा माओरी भाषालाई त्यहाँको सरकारी कामकाजको भाषाबाट हटाउनेलगायत अधिकार कटौतीको प्रयास गरेपछि उनी त्यसको खरो रुपमा विरोध गरेकी थिइन् । सांसद नरहँदै विरोध गरेकी उनले अहिले सांसद बनेपछि विरोधको मुख्य निशाना प्रधानमन्त्री किस्ट्रोफरलाई बनाउँदै आइरहेकी छिन् ।

दमदार भाषणशैली र आफ्ना अधिकारका लागि कटिबद्ध रहेका कारण उनलाई विश्व प्रसिद्ध टाइम म्यागजिनले गरेको सर्वेक्षणले भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा व्याख्यासमेत गरेको थियो । हानाको परिवार लामो समयदेखि माओरी समुदायको अधिकारका लागि लड्दै आइरहेको छ ।

माओरी समुदायको अधिकारका लागि लड्ने समूहका सदस्य रहेका टाइटीमु माइपीकी नातिनी हुन् हाना । हजुरबाकै प्रेरणाले यहाँसम्म आएकी हाना जलवायु परिवर्तनले माओरीमाथि परेको प्रत्यक्ष असरबारे लामो समयदेखि वकालत गर्दै आइरहेकी छिन् ।

अकल्याण्ड र ह्यामिल्टनको बीचमा अवस्थित एउटा सानो शहर हन्टलीमा जन्मिएकी हाना आफूलाई राजनीतिक पात्रका रुपमा भन्दा आफ्नो समुदायको प्रतिनिधिको रुपमा उभ्याउन मन पराउँछिन् । उनी युवा मतदाताहरुलाई राजनीतिक रुपमा सचेत गराउँदै राज्यको एक नीतिले आम नागरिकलाई कसरी असर पारिरहेको छ भनेर सचेत गराउन चाहन्छिन् ।

अहिले माओरीसहित हानाले उही सन् १८४० को वैतांगी सन्धि कार्यान्वयन हुनुपर्ने, सन्धिअनुसार खोसिएको भूमि फिर्ता हुनुपर्ने, आफ्नो समुदाय दोस्रो दर्जाको नागरिकको हैसियतमा बाँच्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, माओरी भाषा तथा संस्कृतिले राष्ट्रिय महत्त्व पाउनुपर्नेलगायत माग अघि सार्दै आइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?