दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरद्वारा एमालेलाई १ लाख जरिवाना

लोकपथ
511
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई एक लाख जरिवाना गरेको छ ।

आज जागरण सभा गरेको एमालेले दरबारमार्गस्थित खुला सडकमा जथाभावी फोहोर फालेको भन्दै महानगरले जरिवानाको पत्र काटेको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त जागरण सभालाई सम्बोधन गरेका थिए ।

काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले सूचना जारी गर्दै एक लाख जरिवाना तिर्न पत्र काटेका हुन् ।

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं।१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००.०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’ जारी सूचनामा भनिएको छ ।

एमालेले नागरिकलाई जागरुक गराउन भन्दै शक्ति प्रदर्शन गरेको थियो । सरकारविरुद्ध भइरहेका षडयन्त्र, अस्थिरताको विरुद्ध र सुशासनको पक्षमा भन्दै सत्तारुढ दलले सडकमा शक्ति प्रदर्शन गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?