भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

लोकपथ
28
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन आग्रह गरे ।

‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,’ गृहमन्त्री लेखकले भने, ‘शान्ति सुरक्षा नभएर पुनःमतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।’

निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिनेस्थिति आउन नदिन आग्रह गरे ।

‘लोकतन्त्रको आधार भनेकै निर्वाचन हो,’ मन्त्री लेखकले भने, ‘त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस् ।’

उनले पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोवार र दुव्र्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखापरेको बताए ।

लागुऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा जिल्लामा जोड दिन निर्देशन गर्दै गृहमन्त्री लेखकले भने, ‘भ्रष्टाचार र अवाञ्छनीय स्वीकार्य छैन ।’

त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकाप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको बताए । ‘जिल्लामा हेडस्पीज दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुँदैछन्,’ उनले भने, ‘लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन ।’

गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

मन्त्री लेखकले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । ‘२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,’ उनले भने, ‘जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो ।’

त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिए । उनले वैदेशिक रोजगारीका नाउँमा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रणलगायत विषयमा ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिए ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त भर्जुवल बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?