काठमाडौं । मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले निजलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङलाई पक्राउ गरिएको हो ।
मिश्रले भने,‘थिङले युवतीहरुको पासपोर्ट संकलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।’मानव बेचबिखनको यो नयाँ स्वरुप भएको उनले बताए ।
साथै उनले थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरुले आफन्तमार्फत प्रहरीलाई खबर गरेका बताए । थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको जनाउँदै उनले युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया