आइपिटिपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा

लोकपथ
42
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेका छन् ।

उनलाई कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेको सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरे यही मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद् सचिवालयका उपसचिव गोपाल सिग्देल छन् । कम्बोडियामामा नै रहेका प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।

‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबीचको समन्वय एवं सहअस्तित्व र समावेशी सम्बन्धका लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा आइपिटिपीमा छलफल हुने जनाइएको छ । 

सभामुख घिमिरेले बैठकमा नेपालको संसद्का तर्फबाट सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । भ्रमणका अवसरमा सभामुखले कम्बोडिया, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । सभामुख नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?