रंगशाला निर्धारित समयमा सम्पन्न गर्न मन्त्री महर्जनकाे निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा–६ मा निर्माणाधीन गौरिटार रंगशालाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले रंगशालाको निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे ।

शुक्रबार स्थलगत अनुगमन गर्दै मन्त्री महर्जनले रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायत पूर्वाधार निर्माण निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले पूर्वाधार निर्माणको हालसम्मको प्रगति विवरणबारे जानकारी लिएका थियो । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा काम गर्ने लक्ष्य लिएको मन्त्री महर्जनले बताए ।

फुटबल रंगशाला निर्माण अन्तिम चरणमा पुगिसकेको भन्दै चाँडै निर्माणले पूर्णता पाउने प्रदेशस्थित खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । अन्य संरचना निर्माणले पनि तीव्रता पाएको उनको भनाइ छ । प्रदेश सरकारले गत आवदेखि क्रिकेट रंगशाला निर्माण गर्न १२ करोड र स्विमिङ पुल निर्माण गर्न ९ करोड बजेट विनियोजन गरी काम थालेको थियो ।

 रंगशालामा पहिलो चरणमा छ सयभन्दा बढी दर्शक अट्ने क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसनको ग्राउण्ड भिभिआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने परिषद्ले जनाएको छ । 

केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले संरचना निर्माण गर्न थालेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रंगशाला निर्माणले गति लिन सकेको थिएन । विसं २०६४ जेठ २८ जेठ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?