इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्रावधान

लोकपथ
70
Shares

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् । 

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यस प्रकारको प्रबन्ध गरेको हो ।

गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको शेयरमा आवेदन दिन सक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए । 

त्यसरी बिक्री गरिने शेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ । शेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ ।

त्यस्तो कम्पनीको संस्थापक वा सर्वसाधारणका रुपमा लगानी गर्न सक्नेछन् । शेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्था गरे बमोजिम हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र निष्कासन गर्दा शेयरको प्रत्याभूति सम्बन्धी व्यवस्था भने लागू हुने छैन ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता डा अधिकारीको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?