काठमाडौं । किम्बू नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास फार्म भण्डाराले बिरुवा उत्पादन घटाएको छ । कार्यालयका अनुसार गत वर्ष छ लाख बिरुवा बिक्री वितरण गरेकामा यस वर्ष तीन लाख बिरुवा लगाउने तयारी गरिएको हो ।
फार्र्मका प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार गत वर्ष तयार गरिएका बिरुवा ५० हजार हाराहारी बिक्री भइरहेका छन् । गत वर्ष उत्पादित बिरुवा बिक्री नभई नसकेकाले अहिले उत्पादनको लक्ष्य कम गरिएको उनले बताए ।
उनले भने, ‘रेशम खेतीका लागि बढी मात्रामा बिरुवा जाने गर्थ्यो । अहिले रेशम खेती नभएपछि बिरुवा कम उत्पादन गर्न लागिएको हो ।’अघिल्लो वर्ष किसानले माग गरेर पनि लिन नआएपछि बिरुवा उत्पादन कम गर्न लागिएको उनले जानकारी दिए ।
अहिले पशुचोपायलाई खुवाउने घाँसको रुपमा मात्र किम्बूको बिरुवा लगाउने गरिएको क्षेत्रीले बताए । उनकाअनुसार पहिला पहिला एक लाख बिरुवा लैजाने किसानले अहिले एक हजार मात्रै लाने गरेका छन् । माग बढ्न नसकेपछि बिरुवा उत्पादनको लक्ष्य घटाइएको उनको भनाइ छ ।
रोजगारीको सिलसिलामा युवाशक्तिहरु विदेश पलायन हुनु र रेशम खेती विस्थापित हुनुले किम्बूका बिरुवाको माग घटेको क्षेत्रीले जानकारी दिए । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा किम्बुको बिरुवा उत्पादन गरिएकामा अहिले क्षेत्रफल घटेर तीन हेक्टरमा मात्र बिरुवा लगाउन थालिएको उनले बताए ।
सुरुवातमा चितवनको माडी, दोलखा, रामेछाप, धनकुटा, भोजपुर, सिन्धुलीलगायत जिल्लामा व्यावसायिक रूपमा रेशम खेती हुने गरेको थियो । अहिले रेशम खेतीमा आकर्षण घट्दै गएको पाइएको क्षेत्रीले बताए । उनले भने, ‘कोकन दिने समयमा रेशम किरा मर्ने, बजार भाउ नपाउने हुँदा यसतर्फ आकर्षण घट्दै गएको हो ।’ अहिले फार्मले च्याउको बिउ उत्पादन, धानको मूल बिउ उत्पादनलगायत काम पनि सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया