रास्वपा नेताहरुविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीशद्वय फुयाँल र ढकालको संयुक्त इजलासमा

लोकपथ
399
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि आज आइतबार पेसी तोकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनको पेसी ल नम्बरमा परेको छ । सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेपनि पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश भएको थियो । न्यायाधीश विनोद शर्माको इजलासले यही कात्तिक २७ गते निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको थियो ।

सो निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायत कार्य गरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?