काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वसांसद पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा राखिएको पूर्वसांसद राईको पार्थिव शरीरमा उनले झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।
सो क्रममा उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री, सांसद, पार्टी नेता तथा कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
भोजपुरको षडानन्द नगरपालिका बोयामा जन्मेका उनको मंसिर ८ गते बेलुका ५८ वर्षको उमेरमा पार्किन्सनको उपचारका क्रममा वीर अस्पताल निधन भएको थियो ।
विसं २०४६ बाट अनेरास्ववियु छैटौँबाट राजनीतिमा प्रवेश गरेका राई २०४७ सालमा स्थानीय इकाइ सदस्य हुँदै सुनसरी र मोरङ जिल्ला सदस्य, भोजपुर जिल्ला सचिव, भोजपुर–तेह्रथुम–सङ्खुवासभा इन्चार्ज, जनमुक्ति सेनाको ब्रिगेड कमिसार तथा पार्टी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए ।
विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य एवं भौतिक योजना राज्यमन्त्रीसमेत भएका उनी विसं २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति नेकपा (माओवादी केन्द्र) ले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको गरेको छ ।
उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया