एक लाख जरिवानाको पत्र लिएर महानगरको टोली च्यासलमा, एमालेले बुझेन

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना गरेको पत्र नेकपा एमाले पार्टी कार्यालयले बुझ्न आनाकानी गरेको छ ।

शुक्रबार एमालेले दरबारमार्गमा ‘जागरण सभा’ आयोजना गरेको थियो । उक्त कार्यक्रमस्थल फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एक लाख जरिवाना गरेका थिए ।

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००.०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’ जारी सूचनामा भनिएको थियो ।

आज महानगर प्रहरीको टोली उक्त पत्र लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । तर पार्टी कार्यालयले उक्त पत्र लिन आनाकानी गरेको छ ।

उक्त कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले गरेको भन्दै एमाले कार्यालयका सचिव डा. भीष्म अधिकारीले आफूहरुले पत्र नबुझ्ने बताए ।

यो कार्यक्रमको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय होइन । महानरप्रशासनले सामान्य कुरा के बुझ्न पर्छ भने को आयोजक हो भन्ने थाहा पाउनुपर्छ । एउटा चिठ्ठी बुझाउन जे हर्कत गरिँदैछ यो पनि अन्त्यतै बेठिक भा छ । मेयर सापले जुन हर्कत गरिरहनु भएको छ, त्यो गलत छ । कुनै पनि कार्यालयमा चिठ्ठी बुझाउन यस्तो तरिकाले आइँदैन । सामान्य तरिकाले चिठ्ठी बुझाउन आइन्छ । जो आयोजक हो उसलाई लगेर चिठ्ठी बुझाउनुहोला,’ अधिकारीले भने ।

पछिल्ला दिनहरुमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) बीच टकराव बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?