मृत्युपर्यन्त अंगदान गर्नेका परिवारलाई दिइने रकम एक लाखबाट दुई लाख रुपैयाँ बनाउने स्वास्थ्यमन्त्रीको निर्णय

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । उनले यसअघि दिइँदै आएको रकममा एक लाख रुपैयाँ थपेर दुई लाख रुपैयाँ पुर्याएका हुन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत सो रकम दिइँदै आएको छ । यस्तै, अंगदानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ । स्वास्थ्य मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ ।

मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए । ‘आफ्नो मृत्यपुपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौं’, मन्त्री पौडेलले भने, ‘एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?