भाषण गरेर मात्रै लोकतन्त्र जीवन्त हुँदैन : नेता केसी

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको इतिहासका ठूलाठूला आन्दोलनको नेतृत्व गरेको कांग्रेस शिथिल अवस्थामा पुग्नुको कारणबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

२००७ साल हुँदै ०६२–०६३ सालको जनआन्दोलनसम्म आइपुग्दासम्मका सबै आन्दोलनको नेतृत्व कांग्रेसले गर्ने तर अहिले मलिन अवस्थामा पुग्नुको कारणबारे बहस गर्नुपर्ने बेला आएको बताए ।

नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आयोजना गरेको १०० दिने विशेष अभियानलाई सम्बोधन गर्दैै पूर्वमन्त्री समेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।

‘इतिहासको पाइलापाइलामा अगुवा बनेको नेपाली कांग्रेस अनि छातीमा हात राखेर भनौँ हामी किन शिथिल भयौँ ? के चाँही नपुगेको हो ? किन मुख मलिन भइरहेको छ ? यसलाई मैले भन्ने भन्दा पनि तपाईँहरुले भन्नुहोस् कहाँचाँही के भइरहेको छ,’ उनले उपस्थितहरुलाई इंगित गर्दै भने ।

त्यस्तै नेताहरुले भाषण गर्दैमा लोकतन्त्र जीवन्त नहुने टिप्पणी गरे । आफूमा लोकतान्त्रिक चरित्र निर्माण गर्न नसकेसम्म नेताहरुले लोकतन्त्र जीवन्त हुन नसक्ने बताए ।

‘लोकतन्त्र जीवन्त राख्न भाषण गरेर मात्र हुँदैन । लोकतन्त्रलाई जीवन्त राख्ने भनेको शिद्धान्तको ठेली बोकेर मात्र हुँदैन । हरेक व्यक्तिमा व्यवहारिकता हुनुपर्छ, मैले लोकतन्त्रवादी चरित्र अपनाउनुपर्छ भन्ने नेता र नेतृत्वलाई लाग्नुपर्छ,’ नेता केसीले भने ।

लोकतान्त्रिक चरित्र भएका व्यक्तिहरुले अरुलाई सम्मान गर्नुपर्नेमा आफ्नै पार्टीमा समेत गालीगलौज गर्ने प्रवृत्ति बढेकोप्रति ध्यानाकर्षण गराउँदै त्यसबाट मुक्त हुन आग्रह गरे ।

त्यस्तै नेपाली कांग्रेस पार्टीप्रति आम नागरिकको आकर्षण कसरी बढाउने भन्ने विषयमा तल्लो तहमा बसेर काम गरिरहेका नेता कार्यकर्ताहरुले कार्ययोजना बनाएर जनताका कुराहरु केन्द्रसम्म पुर्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?