नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक 

लोकपथ
56
Shares

काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको छ । आइतबार एक विशेष समारोहकाबीच कबड्डी लिगको लोगो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गरेका हुन् । यस ट्रफीलाई ‘युनिटी ट्रफी’नाम दिइएको छ । यो ट्रफी नेपालकै समृद्ध विविधता र संस्कृतिको प्रतीकका रूपमा डिजाइन गरिएको विशेष सरप्राइज थियो ।

लोगो उद्घाटन  गर्दै मन्त्री लेखकले भने, ‘म यो खेलको ठुलो प्रशंसक हुँ । जब म हुर्किरहेको थिएँ, त्यतिबेला अरू खेलहरू उपलब्ध थिएनन्, र कबड्डी नै मेरो पहिलो खेल थियो। मैले खेलको सुरुवात यहीबाट गरेको हुँ । नेपाल कबड्डी लिगलाई म हार्दिक शुभकामना दिन चाहन्छु ।’

लोगो सार्वजनिकसँगै फ्रान्चाइज शहरहरूको नाम पनि सार्वजनिक गरिएको छ । नेपाल कबड्डी लिगको पहिलो संस्करणका लागि छ वटा फ्रान्चाइज शहरहरूको नाम सार्वजनिक गरिएको छ । ती शहरहरू हुन् काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल ।

लोगो सार्वजनिक कार्यक्रममा बोल्दै एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले भने, ‘हामी लगभग एक वर्षपछि लोगो सार्वजनिक गर्दैछौं, यो क्षणका लागि म अत्यन्तै उत्साहित छु । यो लिग नेपाली खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।’कबड्डी लिगको यो घोषणा र कार्यक्रमले नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?