शवमाथि नै बलात्कारको आशङ्का, कालीमाटीबाट एक युवक पक्राउ

घटनाको अघिल्लो साँझ मात्रै कालीमाटी प्रहरीबाट छुटेका थिए आरोपित

काठमाडौं । मङ्सिर ७ गते शुक्रवार बिहान ८:३० बजे प्रहरीको कन्ट्रोल रुममा एक फोन आयो । फोन गर्ने व्यक्तिले टंकेश्वरनिर एक महिलाको शव रहेको भन्दै खबर गरे । कन्ट्रोल रुमले सुरुमा प्रहरी वृत्त कालीमाटीलाई खबर गर्‍यो । कालीमाटीबाट प्रहरी पुगे लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)को प्रहरी टोली पनि घटनास्थलमा पुग्यो ।

करिब ४५ वर्षीय महिलाको शरीरमा कुनै घाउ चोट थिएन । आक्रमण गरी हत्या गरिएको कुनै सङ्केत देखिएन । चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले शवको मुचुल्का उठाउन सुरु गर्‍यो ।

जब प्रहरीले घटनाको मुचुल्का उठाउन शवलाई चलायो, तब महिलाको शरीरबाट सुरुवाल केही तल सरेको देख्यो । महिलाको सुरुवाल केही तल सरेको देखेपछि प्रहरी अझै चनाखो भएर अनुसन्धान गर्दा महिलाको भित्री अङ्गमा केही तरल पदार्थ सुकेको अवस्थामा फेला पार्‍यो । प्रहरीले उक्त पदार्थको समेत नमुना लिई उक्त घटना बलात्कार र हत्यासँग सम्बन्धित हुनसक्ने भन्दै थप अनुसन्धान सुरु गर्‍यो ।

कालीमाटी क्षेत्रमा पर्ने टंकेश्वर क्षेत्रमा महिलाको शव भेटिएपछि प्रहरीले उक्त क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धान गर्न थाल्यो । उक्त क्षेत्रको सिसिटिभी फुटेज हेर्दै गर्दा मङ्सिर ६ गते साँझ ८ बजे कालीमाटीको डिभाइन कम्प्लेक्स मुनीको फुटपाथमा एक महिला यताउता गरिरहेको देखियो । मदिराले लट्ठ भएको जस्तो अवस्थामा ती महिला सडक पेटीमै बसेकी थिइन् ।

रातको ८ बजे उक्त क्षेत्रमा पुगेकी महिला राती ११ बजेसम्म सोही क्षेत्रमा हलचल गर्दै बसिरहेकी थिइन् । त्यसपछि भने ती महिला सुतेको वा अचेत रहेको जस्तो सिसिटिभी फुटेजमा देखिन्छ ।

मङ्सिर ७ गते बिहान ३ः१७ बजे सोही बाटो हुँदै एक युवक हिँडिरहेको देखिन्छ । महिला सुतिरहेको वा रहेको स्थानमा करिब २०–२२ वर्षका युवक पुगेर केही समय हेरेको देखिन्छ । त्यसपछि ती महिला रहेको स्थानबाट बोकेर महिलालाई मुख्य सडक पार गर्दै लगेको देखिन्छ ।

महिलालाई सडकबाटै बोकेर लैजाँदै आरोपित युवक

महिलालाई बोकेरै सडक पार गरी एक गल्लीको कुनासम्म लगेको सिसिटिभीमा देखिन्छ । गल्लीको फुटपाथसम्म महिलालाई लगेर केही घिसारेको जस्तोसमेत दृश्यमा देखिन्छ । शुक्रवार बिहान ३ः१७ बजेदेखि ३ः२५ बजेको समयमा यो दृश्य देखिन्छ । महिलालाई बोकेर लगेका ती युवकले पछि महिलालाई त्यहीँ छाडेर आएको देखिन्छ ।

महिलालाई घिसार्दै लगिएको सिसिटिभी दृश्य

महिलालाई कसैले बोकेर लगेको देखिएको, महिलाको भित्री वस्त्रमा तरल पदार्थ भेटिएको र सुरुवाल समेत तल सरेको पाइएपछि उक्त घटना ती युवकले नै गराएको र बलात्कारपछि हत्या भएको हुनसक्ने भन्दै युवकको खोजी सुरु गर्‍यो ।
ती युवकको अनुहार स्पष्टसँग नदेखिएको कारण उसले लगाएको चप्पल र ट्राउजर नै मुख्य सुराक रहेको थियो ।

सिसिटिभी फुटेजमा देखिएका आरोपित युवक

शुक्रवार दिउँसोबाट युवकको खोजी सुरु गरेको अपराध महाशाखाको प्रहरीले मङ्सिर ८ गते शनिवार बिहान १० बजे युवकलाई कालीमाटी क्षेत्रबाट नियन्त्रणमा लियो । पक्राउ पर्ने युवक थिए बझाङको बित्थडचिर गाउँपालिका ९ स्थायी ठेगाना भई कालीमाटी क्षेत्रमा सडक पेटी वा पुल मुनी बस्ने २२ वर्षीय कवीन्द्र मल्ल । पक्राउ गरे लगत्तै प्रहरीले केरकार गर्दा महिलालाई बोक्ने व्यक्ति आफू नै रहेको तर आफूलाई घटनाबारे केही थाहा नभएको कवीन्द्रले जवाफ दिए ।

प्रहरीसमक्षको प्रारम्भिक बयानमा कवीन्द्रले आफू उक्त दिन लागूपदार्थ लिई नसामा रहेको घटनाका सम्बन्धमा आफूलाई केही थाहा नभएको बयान दिएका छन् ।

शवमाथि नै बलात्कारको आशङ्का
घटनास्थलको प्रकृति र सिसिटिभी फुटेज हेर्दा महिलाको हत्या भएको नभई पहिले नै महिलाको मृत्यु भएको र युवकले शवलाई नै बोकेर लगी शवमाथि नै बलात्कार गरेको आशङ्का गरिएको छ । महिलाको सुरुवाल सरेको तथा भित्री वस्त्रमा तरल पदार्थसमेत पाइएको कारण महिलाको शवमाथि नै बलात्कार भएको हुनसक्ने प्रहरीको आशङ्का छ । यद्यपि पोस्टमार्टमको रिपोर्ट आई नसकेको कारण त्यसबारे पोस्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले लोकपथलाई बताए ।

युवक लागूपदार्थ दुर्व्यसनी, यसअघि नै ९ पटक पक्राउ

पक्राउ परेका आरोपित कवीन्द्र मल्ल

पक्राउ परेका २२ वर्षीय कवीन्द्र मल्ल लागूपदार्थको दुर्व्यसनी रहेको र यसअघि नै ९ पटक पक्राउ परिसकेको व्यक्ति रहेको खुलेको छ । उनी कालीमाटी क्षेत्रमा नै चोरी, डकैती गर्ने तथा लागूपदार्थको दुर्व्यसनी रहेको पाइएको छ । उनी कालीमाटी क्षेत्रको पुल मुनी तथा फुटपाथमा बस्ने व्यक्ति रहेको र यसअघि ९ पटकसम्म पक्राउ परिसकेको पाइएको छ । यसअघि ६ पटक कालीमाटी प्रहरीको हिरासतमा पुगेका उनी एक पटक जनसेवा, एक पटक सिंहदरबार र एक पटक बझाङ प्रहरीकै हिरासतमा रहेको पाइएको छ । ८ पटक अभद्र व्यवहारको कसुरमा पक्राउ परेका उनी अन्तिम पटक चोरी तथा डाँका कसुरमा पक्राउ परी मङ्सिर ७ गते मात्रै अदालतमा ५ हजार धरौटी बुझाएर रिहा भएका थिए । प्रहरी हिरासतबाट रिहा भएकै दिन उनले शवमाथि नै बलात्कार गरेको आशङ्का गरिएको छ ।

मृतक महिला पनि दुर्व्यसनी, सडक पेटीमै बास

मृतक महिला पनि लागूपदार्थ तथा मदिराको दुर्व्यसनी रहेको पाइएको छ । मृत्यु भएकी महिला ४५ वर्षीय जानुका सुर्खेती रहेको खुल्न आएको छ । उनी मदिरा तथा लागूपदार्थको दुर्व्यसनी रहेको र सडक पेटीमै सुत्ने गरेको प्रहरीले जनाएको छ । घटना भएको दिन पनि महिलाले अत्यधिक मदिरा सेवन गरेर डिभाइन कम्प्लेक्सको पेटीमा आएर बसेको पाइएको छ ।

महिलाको शव बोकेर नै हिँडेको हो वा महिला अचेत अवस्थामा रहँदा युवकले बोकेर लगी बलात्कारपछि हत्या गरेको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । आरोपित युवकलाई भने अदालतबाट ५ दिनको म्याद लिई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?