आठ एसएसपी डीआईजीमा सिफारिस : रवि लामिछानेले बिगारेको थिति रमेश लेखकले ट्र्याकमा ल्याए

लोकपथ
3.1k
Shares

काठमाडौं । तत्कालीन गृहमन्त्री रवि लामिछानेले वरीयता मिचेर दुई तहमुनीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्दा छुटाइएका एसएसपीहरु बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिको हिजो आइतबार बसेको बैठकले एकदेखि आठ नम्बरसम्म वरीयताका क्रममा रहेका एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

तत्कालीन गृहमन्त्री लामिछानेले आफ्ना नजिकका एसएसपीहरु दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस समितिलाई दबाब दिँदा उनीहरुभन्दा दुई ब्याच सिनियर एसएसपीहरुमाथि अन्याय भएको थियो । कार्की, केसी र अधिकारीलाई बढुवा गर्ने नाममा तत्कालीन गृहमन्त्री लामिछानेले २०५१ साल चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्दमाथि चर्काे अन्याय गरेका थिए । यी तीनै जना आईजीपी वसन्तबहादुर कुँवरका ब्याची हुन् । कुँवर ब्याचका सबै जना डीआईजी र एआईजी भइसकेर ५६ बर्से उमेर हदका कारण धमाधम अवकाशमा जाँदा राउत, रावल र चन्दलाई एसएसपीमै रहन बाध्य पारिएको थियो ।

यसैगरी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा २०५३ मा सालमा भर्ना भएर पछि नेपाल प्रहरीमा स्थानान्तरण भएको टोलीमाथि पनि तत्कालीन गृहमन्त्री लामिछानेले बक्रदृष्टि राखेका थिए । जसको मारमा एसएसपीहरु सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलगायत परेका थिए ।

तत्कालीन गृहमन्त्री लामिछानेले अघिल्लो पटक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई छुटाए पनि यसपटक भने उनीहरुलाई प्राथमिकता दिएर बढुवा गरिएको छ । राअविबाट आएर बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा शाह परेका छन् । उनी गत जेठमै बढुवामा पर्ने चर्चा थियो । तर तत्कालीन गृहमन्त्री लामिछानेले २०५४ को टोलीका तीन जनालाई काखी च्याप्दा उनी त्यसबेला डीआईजी बढुवामा छुटेका थिए ।

तर वर्तमान गृहमन्त्री रमेश लेखकले बढुवा सिफारिस समितिलाई कुनै दबाब नदिएकाले समिति वरीयताअनुसार नै बढुवा सिफारिस गर्न सफल भएको हो । यो पटक बढुवा सिफारिसमा पर्न तीन ब्याचका एसएसपीले चर्काे लबिइङ गरेका थिए । समग्रमा २० जना एसएसपी डीआईजीको निम्ति प्रतिस्पर्धामा थिए । २०५३ र २०५४ को टोलीबाट बढुवा हुने प्रहरी अधिकारी भावी आईजीपीको दौडमा समेत हुने भएकाले सबैले लबिइङ तिब्र पार्नुको कारण यही थियो ।

२०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीको टोलीले यो पटक पनि चर्काे लबिइङ गरेकाले उनीहरुभन्दा सिनियरमाथि यो पटक पनि अन्याय हुने सम्भावना थियो । तर रवि लामिछानेले बिगारेको थिति रमेश लेखक नेतृत्वको गृह प्रशासनले यो बढुवा सिफारिसबाट भने लयमा ल्याउन खोजेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?