काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेको छ ।
दक्षिण एसियाका अन्य मुलुकहरूमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको सीबीफीनको भनाई छ । यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित समेत गरेको सीबीफीनले बताएको छ ।
मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षित रूपमा लगानी÷कर्जा विस्तार हुन नसक्दा आर्थिक गतिविधिहरूले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सृजना गरेको सीबीफीनले जनाएको छ । यसले लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनको लागि ठूलो अवसर सृजना गरेको छ ।
त्यसैगरी, यस मूल्याङ्कनले बैंक/वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितो पत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन/ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जीवनी बुटीको कार्य गर्ने सीबीफीनको विश्वास छ ।
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गरेको सन्दर्भमा साख मूल्याङ्कनको क्रममा देखिएका कमीकमजोरीहरूलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन, समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रूपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैङ्किङ विकाससहित आर्थिक समृद्धिको नवीन यात्रा प्रारम्भ गर्नका लागि नेपाल सरकार तथा सरोकारवाला सम्पूर्ण निकायहरूबाट आवश्यक पहलकदमी तत्काल अगाडी बढाउन पनि सीबीफीनले अपेक्षा राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया