तस्करीको तीन किलो सुनबारे सशस्त्रका डीएसपीलाई खबर दिने असई तिवारी निलम्बित

लोकपथ
791
Shares

काठमाडौं । रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको तीन किलो सुन लुटपाट प्रकरणमा जोडिएका प्रहरी सहायक निरीक्षक (असई) सविन तिवारी निलम्बनमा परेका छन् ।

सुन तस्करीको सूचना आफ्नो चेन अफ कमान्डमा रिपोर्ट नगरेर आचरणविपरीत काम गरेको हुनाले उनलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने, ‘चेन अफ कमान्ड छलेर प्रहरी कर्मचारीले अन्य निकायसँग साँठगाँठ गर्न मिल्दैन, उसको शैली प्रहरी कर्मचारीले गर्ने आचरण भन्दा फरक देखिएको छ, यसलाई निलम्बन गरेर छानबिन थालिएको छ ।’

गत साउन २४ गते तस्कर समूहले केरुङबाट कन्टेनरको चालक सिटभन्दा माथिको बत्तीमा सुन लुकाएर पठाएकोमा कन्टेनर चालक रामकृष्ण वाइबाले आफूले सुन ल्याउँदै गरेको जानकारी आफ्नो मामाको छोरा निमा छिरिङ तामाङलाई दिएका थिए । निमाले भने त्यसको जानकारी असई तिवारीलाई दिएका थिए । तिवारीले ‘चेन अफ कमान्ड’ भन्दा बाहिर गई सोको जानकारी राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी सञ्जय अधिकारीलाई गराएका थिए ।

असई तिवारीको जानकारीपछि सशस्त्रका डीएसपी सञ्जय अधिकारीको टोली सुन नियन्त्रणमा लिन काठमाडौंमा पर्खिरहेकोमा त्यसअगावै सुन लुटिइसकेको थियो । त्यसपछि तस्कर समूहले चालक वाइबा र निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानीलकलण्ठस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाएर कुटपिट गरे ।

उनीहरुलाई अपहरण गरेको अभियोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा कांग्रेसका कोषाध्यक्ष नुर्पु सिंगी तामाङ, गोसाईंकुण्ड गाउँपालिका–१ थुमन घर भएका बुद्धिबहादुर तामाङ, गोसाईंकुण्ड–६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका–१ राम्चे घर भएका गोपाल तामाङलाई पक्राउ गरी मुद्धा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?