बीआरआई परियोजना नेपालको हितमा छ : माधव नेपाल

लोकपथ
28
Shares


काठमाडौं ।  प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन्  ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताए । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाई थियो । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वाभाविक रूपमा अघि बढाउनुपर्ने बताए। 

उनले भने,‘बीआरआई स्वाभाविक रूपमा नेपालले स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । किन ? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । दक्षिणका देशहरू साउथ कोअपरेशन भित्र यो पर्दछ । यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ । लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौँ । लाभ लिने गरेका छौँ । झन् बीआरआईसँगमा हामी आबद्ध उहिले नै भइसकेका छौँ  । त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनुपर्ने आवश्यकता छ । बीआरआईसँग हामी डराएका छैनौँ ।’

त्यस अवसरमा अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशंका उत्पन्न नहुने गरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?