काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको छ । अनुसन्धानबाट मुद्दा चलाउने प्रमाण नपुगेको भन्दै उनको हकमा मुद्दा नचलाउने निर्णय भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए ।
मानव तस्करी प्रकरणमा अन्य आरोपितसँगै कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई गत कात्तिक २५ गते प्रहरीले पक्राउ गरेको थियो । दुई साता अनुसन्धान गरिसकेपछि पूर्व मन्त्री अधिकारीको हकमा संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय भएको हो ।
टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री अधिकारीसहितको टोली कात्तिक ११ गते जापान उडेका थिए । उनीसँगै जापान पुगेका खोटाङको केपीलासलगढी गाउँपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाउँपालिका २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका ५ का २१ वर्षीय कञ्चन देवकोटा जापानको अध्यागमनमा रोकिएका थिए । उनीहरूमाथि अनुसन्धान हुँदा नक्कली कागजात बनाएर जापान पुगेको र उनीहरूलाई मन्त्री अधिकारीले सँगै लगेको खुलेको थियो ।
स्थानीय तहका जनप्रतिनिधि, मन्त्रालयका कर्मचारी आदि बनाएर मानव तस्करी गरेको पाइएपछि उनीहरूलाई नेपाल डिपोर्ट गरी अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो । सो प्रकरणको अनुसन्धान हुँदा नुवाकोटका जुगल रिजाल, दोलखाका वीरबहादुर सुनुवार र धादिङका महेश पाण्डे पनि पक्राउ परेका थिए । सोही प्रकरणको अनुसन्धानको सिलसिलामा मन्त्री अधिकारी पनि पक्राउ परेका थिए । सोही घटनामा ओखलढुंगाका गुढी राई र नवीन राईसमेत पक्राउ परेका थिए । पक्राउ परेका अन्यको हकमा मुद्दा चल्ने निर्णय भए पनि पूर्व मन्त्री अधिकारीको हकमा भने मुद्दा नचल्ने निर्णय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया