दलहरू बीच सहमति हुन नसकेको बीआरआई परियोजना के हो ?

लोकपथ
84
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा दलहरू बीच सहमति हुन सकिरहेको छैन । सत्ता गठबन्धन दल काँग्रेस र एमालेबीचमै पनि बीआरआई परियोजनालाई अघि बढाउनेबारेमा सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि गर्न लागेको चीनको औपचारिक भ्रमणमा बीआरआई परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा दलहरू विभाजित हुँदा परियोजनाबारे अन्यौलता थपिएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग छलफल अघि बढाए पनि दलहरूको फरक फरक धारणा आएको छ ।

छलफलमा काँग्रेसले बीआरआई कार्यान्वयनमा सम्झौता गर्न नहुने धारणा राखेको छ । त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीले भने बीआरआई परियोजनामा सम्झौता गर्नुपर्ने सुझाव दिएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा चीनसँग सरकारले ऋण लिन नहुने बताए । उनले नेपाल ऋण लिने सामर्थ्य नभएको बताए । उनले ऋण नलिने तर अरू अनुदान लिन तयार भएको बताएका छन् ।

यता, प्रधानमन्त्री ओलीले भने चीन भ्रमणको क्रममा ऋणसम्बन्धी कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । चीन भ्रमणका एजेन्डाबारे पूर्व प्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धित कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यो भ्रमण विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी गरेको जानकारी दिए ।

छलफलमा सहभागी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् । बीआरआई नेपालको हितमा रहेको र यसबाट लाभ लिनुपर्ने नेपालको सुझाव छ ।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई परियोजनामा नेपाल अघि बढ्नुपर्ने भन्दै चीनसँग ऋण लिनुहुँदैन भन्ने ढङ्गबाट अघि बढ्न नहुने धारणा राखे ।

के हो बीआरआई ?
‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) चीनले अघि सारेको एक महत्त्वाकाङ्क्षी परियोजना हो । चीनको पुरानो सिल्करोडको नयाँ स्वरूपको रूपमा बीआरआई परियोजना अघि सारिएको हो । चीनले विश्वलाई एक क्षेत्र एक सडकको माध्यमबाट जोड्ने लक्ष्यका साथ अघि सारेको परियोजना नै बीआरआई हो । बीआरआई नेपालका लागि मात्रै नभएर विश्वका विभिन्न मुलुकका लागि चीनले अघि सारेको परियोजना हो ।

चिनियाँ राष्ट्रपति सी जिन पिङले सन् २०१३ को सेप्टेम्बरमा कजाकस्तान भ्रमणका क्रममा ‘वान बेल्ट वान रोड’ परियोजनाको घोषणा गरेका थिए । उनले त्यसको एक महिनापछि गरेको इन्डोनेसिया भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बीआरआईको रूपमा घोषणा गरेका थिए ।

नेपाल र चीनले सन् २०१७ मा बीआरआईसम्बन्धी समझदार पत्रमा हस्ताक्षर गरेको थियो । तर, समझदार पत्रमा हस्ताक्षर भएको सात वर्ष भइसक्दा पनि नेपालले एउटा पनि परियोजना चयन गरेको देखिँदैन ।

बीआरआई परियोजनामा मुख्य गरी चीनको सडक सञ्जालमार्फत विश्वलाई जोड्ने रणनीति भए पनि रेलमार्ग, विमानस्थल, प्रशारणलाइन र अन्य पूर्वाधारलगायतका परियोजना यसमा पर्दछन् । तर, नेपालसँग गरिने सम्झौताअन्तर्गत केके पर्छन् भन्ने प्रस्ट छैन ।

यो परियोजना विश्वलाई नै लक्षित गरेर बनाइएको वृहत् चिनियाँ परियोजना भएको चीनले बताउँदै आइरहेको छ । विश्वका एक सय ५० भन्दा बढी देशलाई बीआरआईमा सहभागी गराएको चीनले छिमेकी देशहरूमा विवादका कारण यस परियोजना लागु गराउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?