रबि लमिछानेलाई साँझ सवा ५ बजे मात्रै हवाई मार्गबाट काठमाडौं ल्याइने

लोकपथ
161
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि झण्डै ४० दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज मंगलबार साँझ मात्र काठमाडौं ल्याइने भएको छ । उनलाई आज बिहान विमान मार्फत् काठमाडौं ल्याइने तयारी भएपनि मौसम बाधक बनेकाले साँझ सवा ५ बजे ल्याउन लागिएको हो ।

बाक्लो हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले उडान अवरूद्ध हुँदा लामिछानेलाई बिहान काठमाडौं ल्याउने तयारी प्रभावित बनेको हो । उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धमा बयान लिन काठमाडौं ल्याउन लागिएको हो । सो सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले यही मंसिर २ मा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्वर्णलक्ष्मी सहकारीको बयान सकिएपछि उनलाई पुनः कास्की नै लगिने छ ।

लामिछाने बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् । सुप्रिम सहकारीको बचत अपचलनमा पक्राउ पुर्जी जारी भएकाले लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेका बेला स्वर्णलक्ष्मी सहकारीको रकम लगेर अपचलन गरेको प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको हो ।

काठमाडौं महानगरपालिका–१४, कालिमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट स्वर्णलक्ष्मी सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । सदस्यहरूको उजुरीपछि अनुसन्धान गर्दा हिनामिनामा जीबी राईसहित स्वर्णलक्ष्मीका पदाधिकारी संलग्न देखिएका थिए । स्वर्णलक्ष्मीबाट ११ कम्पनीमा सहकारीको बचत लगेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?