काठमाडाैं । प्रहरी इन्स्पेक्टर बिनु कुमारी शाही जोडिएको हनी ट्र्याप प्रकरणमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । ललितपुर प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आइतबार ललितपुर जिल्ला अदालतमा आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेको हो ।
ललितपुर प्रहरीको प्रतिवेदनका आधारमा प्रहरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएकामध्ये चार जना प्रहरी हिरासतमा छन् भने प्रहरी इन्स्पेक्टर बिनु कुमारी शाही र योजनाकार दर्शन पोखरेल भने फरार छन् ।
हनी ट्र्यापमा संलग्नमध्ये धनकुटाको महालक्ष्मी नगरपालिका ४ खानीगाउँ स्थायी ठेगाना भई इटहरी उपमहानगरपालिका ३ पशुपति चोकमा बस्ने १९ वर्षीय सुष्मा विश्वकर्मा सहित ६ जनालाई मुद्दा चलाएको हो । सुरुमा पीडित भन्दै पुगेकी उनी नै यस घटनाको मुख्य पात्र हुन् । त्यसै गरी प्रहरीले सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरका ३२ वर्षीय ताज वा ताज मुल भन्ने तजम्मुल इस्लाम, तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दांगपा घर भएकी २० वर्षीय भिमादेवी थापा, सुर्खेतको सिम्ता गाउँपालिका १ का निलम्बित प्रहरी सहायक हवलदार ३२ वर्षीय महेन्द्र हमाल, सुनसरीको इटहरी नगरपालिका वडा नम्बर ८ का २९ वर्षीय दर्शन पोखरेल र कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर १, मान्मा स्थायी ठेगाना भई तत्कालीन समयमा प्रहरी प्रभाग बुङमतीमा कार्यरत प्रहरी इन्स्पेक्टर बिनु कुमारी शाही विरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको हो । यस घटनाको योजनाकार मध्येका दर्शन पोखरेल र क्षेत्राधिकार बाहिर गई मेलमिलाप गराई आर्थिक लाभ लिने तयारी गरेकी इन्स्पेक्टर बिनु कुमारी शाही भने फरार छिन् ।
भएको के थियो ?
ललितपुरका इन्द्र कुमार राई कामको सिलसिलामा इटहरी जाने आउने गर्दा सोही स्थानमा काम गरी बस्ने १९ वर्षीय सुष्मा विकसँग चिनजान भएको थियो । पहिलो पटक मोरङको सुन्दर हरैंचामा रहेको होटेल सेभेन स्टारका कर्मचारीले सुष्मा विकसँग चिनजान गराइदिएका थिए । मदिराले लट्ठ भएका राईले केटी चाहियो भनेपछि होटेलका कर्मचारीले पहिलो पटक एक रातको १० हजार रुपैयाँ दिने गरी सुष्मालाई होटेलमा बोलाइदिएका थिए ।
पहिलो पटक सँगै बसेपछि दोस्रो पटक राई आफैँले सुष्मालाई फोन सम्पर्क गरी २०८१ साउन १२ गते इलामको कन्याममा घुम्नका लागि लगेका थिए । सोही समयमा रात समेत बसी आपसी सहमतिमै शारीरिक सम्पर्कसमेत भएको राईको जाहेरीमा उल्लेख छ । उक्त समय सँगै बसी फर्किएपछि राईले सुष्मालाई ३० हजार रुपैयाँ दिएका थिए ।
त्यसपछि छुट्टिएका सुष्माले साउन १९ गते राईलाई फोन गरी थप रकम माग गरेकी थिइन् । तर राईले थप रकम दिन अस्वीकार गरेपछि दर्शन पोखरेल भन्ने व्यक्तिले पटक पटक फोन सम्पर्क गरी रकम नदिए बलात्कारको मुद्दामा फसाइदिने धम्की दिन थाले ।
पटक पटक फोन र धम्की आउन थालेपछि राईले ती सबै नम्बरहरूलाई ब्लक गरेर सम्पर्कविहीन हुन थाले । पछि ताज मुल इस्लाम भन्ने व्यक्तिले समेत प्रहरीमार्फत फोन गरेर सुष्मासँगको समस्या समाधान नगरेर केस गर्ने धम्की दिए । यहीबिचमा सुष्मा गर्भवती बनेको भन्दै धम्कीसमेत आउन थाल्यो ।
त्यसपछि काठमाडौंमा रहेका राईलाई एक्कासि सुष्माले फोन गरी भेट्न बोलाएपछि इन्द्र कुमार राइ सुष्मालाई भेट्न गए । सुष्मासँग भेटेर खाना खाई निस्किएपछि भैँसेपाटी पुगेको अवस्थामा प्रहरीसहितकाे टोलीले राईलाई नियन्त्रणमा लियो ।
नियन्त्रणमा लिएर प्रहरी प्रभाग बुङमतीमा लगी हिरासतमा समेत राखेर रकमको बार्गेनिङ भयो । मिलापत्र नगरे जेलमा सड्ने भन्दै इन्स्पेक्टर बिनु शाहीले समेत तर्साउन थालेपछि राई रकम दिन राजी भए ।
साठी लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ ३० लाखमा मिलेपछि इन्द्र ३० लाख रुपैयाँ तिरेर मेलमिलाप गर्न तयार भए । तर रकम नदिई नछाड्ने भन्दै प्रहरी प्रभाग बुङमतीकी इन्स्पेक्टर बिनु शाहीले इन्द्रको गाडी नै त्यहीँ राखिदिइन् । पहिलो दिन इन्द्रको खातामा भएको ७ लाख रुपैयाँ ताज मुल इस्लामले भनेको भिमा कुमारी थापाको बैङ्क खातामा ट्रान्सफर गरियो भने त्यसको भोलिपल्ट नगद १३ लाख भिमाकै खातामा हालियो । बाँकी १० लाख भने तीन महिनापछि दिने गरी चेक लिएर छाडियो ।
इलाममा भएको घटना भैंसेपाटी प्रहरीबाट पक्राउ भई त्यहीँ मिलापत्र भएको कुरा र प्रहरीको भूमिकासमेत शङ्कास्पद देखिएपछि इन्द्रले सो को जानकारी र उजुरी जिल्ला प्रहरी परिसर ललितपुरलाई गराए । त्यसपछि ललितपुर प्रहरीबाट छानबिनका लागि बोलाएपछि दर्शन पोखरेल त्यहीँबाट भागे । अन्यलाई भने प्रहरी इन्स्पेक्टर शाहीले नै लिएर ललितपुर परिसर गइन् ।
त्यहाँ घटनाको विषयमा इन्द्रले सबै कुरा बताएपछि हनी ट्र्यापमा पारेर रकम असुली गरेको र आपसी सहमतिको यौन सम्बन्धलाई बलात्कार गरेको भन्ने बनाई बार्गेनिङ गरेको थाहा भएपछि सबैलाई नियन्त्रणमा राखियो । इन्स्पेक्टर शाहीलाई भने बोलाएको समयमा उपस्थित हुने गरी छाडियो । यही विषयमा पछि इन्द्र कुमार राईले ललितपुर प्रहरीमा आपराधिक लाभको कसुरमा जाहेरी दिए ।
अनुसन्धानमा खुल्यो हनी ट्र्यापको योजना
ललितपुर प्रहरीले अनुसन्धान सुरु गरेपछि यो घटना बलात्कारको घटना र मिलापत्र नभएर हनी ट्र्याप रहेको खुल्यो । उक्त हनी ट्र्याप घटनाको प्रमुख योजनाकार दर्शन पोखरेल र तजम्मुल इस्लाम रहेको खुल्यो । यो ट्रयापिङको केन्द्रमा सुष्मा विश्वकर्मा थिइन् भने योजना बनाउने, ट्र्यापमा पार्ने र रकम असुल गर्ने योजनामा ताजसँगै बुङमती प्रहरी प्रभागकी इन्स्पेक्टर बिनु कुमारी शाही पनि रहेको खुल्यो ।
प्रहरी हिरासतमा पुगेपछि ताजले दिएको बयानमा यो घटनामा दर्शन पोखरेलको योजना रहेको र त्यसमा आफूले साथ दिएको कुरा उल्लेख छ । त्यसबाहेक राईलाई ट्रयापिङमा पारी असुल हुने रकम इन्स्पेक्टर शाही र अन्य व्यक्तिहरूले आधा आधा बाँड्ने सहमति भएको पनि बयान दिएका छन् ।
इस्लामको बयानको केही अंश यस्तो छ :
‘… म काठमाडौस्थित एयरपोर्ट नजिक रहेको होटेल रिडर्स ईन नामको होटेलमा कोठा लिई बसेकोमा सोही दिनमा साँझको अन्दाजी १८ः०० बजे देखि १८ः३० बजेको समयमा कमल थापा सरलाई ह्वाट्सएपमा फोन गरी सर हामी काठमाडौं आइपुग्यौँ के गरौँ भनेर सोध्दा उहाँले भैंसेपाटीको ईन्स्पेक्टरसँग कुरा भइसकेको छ त्यहाँ गएर भेटेर निवेदन दिनु भनेपछि प्रहरी प्रभाग बुङमतीमा गई प्रहरी निरीक्षक बिनु कुमारी शाहीलाई भेटी सम्पूर्ण ब्यहोरा सुनाए पश्चात् निज प्रहरी निरीक्षक बिनु कुमारी शाहीले नै एक जना हरि नामको प्रहरी बोलाई इन्द्र कुमार राईको विरुद्धमा सुष्मा विश्वकर्माको नामबाट कुटपिट तथा गालीगलौज गरेको भनी सोही कार्यालय भित्रै निवेदन लेख्न लगाई सुष्मा विश्वकर्माको दस्तखत गराई पेस गरे पश्चात् इन्स्पेक्टर बिनु कुमारी शाहीले उक्त निवेदनमा तोक आदेश लगाई निवेदन लिने तर दर्ता नगर्ने भनेर आफ्नो स्टाफलाई भन्नु भयो, सो दिन रात परिसकेकाले इन्स्पेक्टर बिनु शाहीले सुष्मा विश्वकर्मालाई तिमी भोलि इन्द्र कुमार राईलाई फोन गरी एउटा होटेलमा बोलाउनु र रक्सी खुवाई कोठामा बस्नु अनि ट्वाइलेटमा गई ताज मुल इस्लामलाई एसएमएस गरी होटेलको नाम, कोठा नम्बर र लोकेसन पठाउनु त्यतिखेर हामीहरू इन्द्र कुमार राईलाई पक्राउ गर्न आई हाल्छौँ भनेकी थिइन् ।’
‘… मेरो साथी दर्शन पोखरेलले (सुष्मा विक) लाई निजहरूले सहमतिमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भएको भनी झुटो ब्यहोरा बताई सङ्गठित रूपमा इन्द्र कुमार राईसँग रकम असुल्नको लागि मलाई प्रयोग गरेको हुँदा यस घटनाको मुख्य योजनाकार दर्शन पोखरेल र सुष्मा विक नै हुन् । उल्लेखित कसुर प्रतिवादी दर्शन पोखरेलको योजनामा म समेतको संलग्नतामा हुन गएको हो ।’
‘… मैले निज इन्द्र कुमार राईलाई जबरजस्ती करणी मुद्दामा फसाइदिने भनी डर त्रास देखाएको होइन । तत्कालीन समयमा पीडित भएकी भनिएकी सुष्मा विकलाई साँच्चिकै जबरजस्ती करणी गरी गर्भपतन गराएको भन्ने सुष्मा विक र दर्शन पोखरेलले भने बमोजिम तत्कालीन समयमा पीडकलाई कानुनी दायरामा ल्याउनको लागि प्रहरी कार्यालयमा निवेदन दिएको र निज जाहेरवाला इन्द्र कुमार राईले पनि आफूबाट गल्ती हुन गएको र घरमा साना बच्चाहरू समेत रहेको हुँदा निज सुष्मा विकलाई क्षतिपूर्ति दिन्छु मिल्नु पर्छ भनी सोही प्रभागकी इन्स्पेक्टर बिनु कुमारी शाहीलाई आग्रह गरेपछि सोही कुरा निज बिनु कुमारी शाहीले हामीलाई भनेपछि हामी निवेदकहरू समेतले सहमति जनाएपछि निज जाहेरवाला इन्द्र कुमार राईले रु. ३० लाख रकम क्षतिपूर्ति बापत दिने भनी सहमति भएको हो । उक्त कार्यमा हाल पक्राउ परेका प्रतिवादीहरू म समेत फरार प्रतिवादीहरू दर्शन पोखरेल, बिनु कुमारी शाही समेतको संलग्नता छ ।’
इस्लामको मौकाको बयानमै राईबाट आएको रकम आधा आधा बाँड्ने सहमति भएको कुरा उल्लेख छ भने बार्गेनिङ गर्दा ३० लाख रुपैयाँबाट तल नआऊ है भनी इस्लामलाई म्यासेज गरेको कुरा पनि उल्लेख छ ।
इस्लामले मौकाको बयानमा भनेका छन्,
‘… ७ गते अन्दाजी ११ः०० बजेतिर भैँसेपाटी प्रहरी कार्यालय नजिक गई प्रहरी समेतको सहयोगमा इन्द्र कुमार राईलाई नियन्त्रणमा लिई प्रहरी निरीक्षककै कोठामा बसी छलफल गर्दा सुष्मा विकलाई इन्द्र कुमार राईले क्षतिपूर्ति दिन्छ, केस यहीँ मिलापत्र गर भनी मलाई भन्नु भयो, त्यसपछि मैले निज इन्द्र कुमार राईलाई इन्स्पेक्टर बिनु कुमारी शाहीको अगाडी ठिकै छ नि त क्षतिपूर्ति स्वरूप रु. ५०,००,०००।– (पचास लाख) दिनु न त भन्दा निज इन्द्र कुमार राईले म सँग त्यति रकम छैन, त्यत्रो रकम दिन सक्दिन भनेकोमा मैले रकम त चाहिन्छ भनेपछि निज इन्द्र कुमार राईले त्यत्रो धेरै रकम म दिन सक्दिन, मैले रु. ३०,००,०००।– (तीस लाख) सम्म दिन सक्छु, त्यो पनि रु. २०,००,०००।– (बिस लाख) अहिले दिन्छु र बाँकी रु. १०,००,०००।– (दश लाख) ३ महिना पछिको चेक दिन्छु भनेपछि मैले त्यो कुरा क्याफेमा बसेका दर्शन पोखरेललाई निजको ह्वाट्सएप नम्बर ९८०१०४३४३४९ मा म्यासेज पठाई इन्द्र कुमार राईले क्षतिपूर्ति स्वरूप रु. ३०,००,०००।–(तीस लाख) दिन्छ रे, के गर्ने ? भन्दा निज दर्शन पोखरेलले ल ल हुन्छ तर सबै नगदै रकम लिनु भनी निजले मलाई ह्वाट्सएप मै म्यासेज पठाए भने सोही समयमा इन्स्पेक्टर बिनु कुमारी शाहीले समेत मलाई ह्वाट्सएपमै म्यासेज पठाई ‘त्यो भन्दा मुनि नजाऊ है’ भनी मलाई भन्दा मैले हवस् भनी म्यासेज पठाएँ ।’
यसरी इलाममा भएको आपसी सहमतिको यौन सम्बन्धलाई बलात्कार भन्दै ट्र्यापमा पारेर रकम असुल गर्ने र गर्न खोज्ने ६ जनालाई ललितपुर प्रहरीले मुद्दा चलाएको छ । मुद्दा चलाएकामध्ये बिनु कुमारी शाही र महेन्द्र हमाल आफ मातहतकै प्रहरी कर्मचारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया