काठमाडाैं । ललितपुरको प्रहरी प्रभाग बुङमती भित्रै रहेको हनी ट्र्याप र रकम लेनदेन प्रकरणमा इन्स्पेक्टर बिनु कुमारी शाहीले प्रतिवादीको मोबाइल नै गायब पारेको खुलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले सरकारी वकिलमार्फत अदालतमा पेस गरेको मिसिलमा प्रतिवादीको मोबाइल नै इन्स्पेक्टरले गायब पारेको खुलेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृत इन्स्पेक्टर नानीकाजी थापाले तयार पारेको प्रतिवेदनमा इन्स्पेक्टर शाहीले प्रतिवादीसँग गरेको कुराकानीको प्रमाण नष्ट पार्न प्रतिवादीको मोबाइल नै गायब पारेको खुलेको हो । हनी ट्र्यापमा पारी रकम लेनदेन गरिसकेपछि सो को विषयमा जिल्ला प्रहरी परिसर ललितपुरले थाहा पाई अनुसन्धान सुरु गरेपछि इन्स्पेक्टर शाहीले प्रतिवादी ताज मुल भन्ने तजम्मुल इस्लामको मोबाइल फोन नै गायब पारेको तथ्य खुलेको हो ।
ललितपुर जिल्ला अदालतमा पेस भएको मिसिलमा इन्स्पेक्टर शाहीले ललितपुर प्रहरी परिसरभित्र पुगेपछि नै भिमा लगायतका व्यक्तिसँग ह्वाट्सएपमा भएको कुराकानी डिलिट गराउँदै इस्लामको मोबाइल फोन नै गायब पारेको खुलेको हो ।
इन्स्पेक्टर शाहीले इस्लामको मोबाइल नम्बरमा चलेको ह्वाट्सएपमा सन्देश पठाएर हनी ट्र्यापबाट आएको रकम आधा आधा पार्ने, ३० लाखभन्दा कममा सम्झौता नगर्न भनेको र तत्काल प्राप्त भएको २० लाखमध्ये १० लाख रुपैयाँ तत्कालै उपलब्ध गराउन मोबाइलमा म्यासेज पठाएकी थिइन् । सो कुराको जानकारी इस्लामले ललितपुर प्रहरीमा बयान गर्दा भनेपछि सो को पोल खुल्ने डरले शाहीले इस्लामको मोबाइल नै जफत गरी गायब पारेको तथ्य खुलेको हो ।
प्रहरीसँगको मौकाको बयानमा बुझिएकी मानिस भगवती थापाले दिएको बयानमा इन्स्पेक्टर शाहीले इस्लामको मोबाइल खोसी लगेको कुरा उल्लेख छ भने थापाको मोबाइललाई नै इस्लामको मोबाइल हो भनी भन्न लगाएको समेत उल्लेख छ ।
भगवती थापाले दिएको बयानमा यस्तो भनिएको छ,
इन्स्पेक्टर मेमले लिएको ताज मुल इस्लामको मोबाइल उहाँले नै कता लानु भयो मलाई थाहा भएन …….
‘… यस कार्यालयमा आई सके पश्चात् उक्त भैंसेपाटी प्रहरी कार्यालयको इन्स्पेक्टर मेमले ताज मुल इस्लामको मोबाइल खोसी मेरो फोन ताजमुल इस्लामको हो भन्नु भनी मलाई भन्नु भएको थियो । इन्स्पेक्टर मेमले लिएको ताज मुल इस्लामको मोबाइल उहाँले नै कता लानु भयो मलाई थाहा भएन ।’
त्यसै गरी अनुसन्धानका क्रममा बयान दिने क्रममा प्रहरीका हवलदार मेजर खुम बहादुर घिमिरेले पनि इन्स्पेक्टर शाहीले इस्लामको मोबाइल लुकाउन लगाएको र सुरुमा आफूले लुकाएको तर पछि मोबाइल कहाँ पुग्यो भन्ने थाहा नभएको बयान दिएका छन् ।
घिमिरेले बयानमा भनेका छन्,
‘… प्रनि बिनु कुमारी शाही सँगै रहेका प्र.स.ह. महेन्द्र हमाल म भएको स्थानमा आई एउटा मोबाइल दिई यो मोबाइल ड्राइभरको साइडमा रहेको सिटको कभरको पछाडि पट्टीको गोजीमा राख्नु भने पश्चात् मैले उक्त मोबाइल प्र.स.ह. महेन्द्र हमालको हातबाट लिई के कुन कम्पनीको हो भन्ने नहेरी निज प्र.स.ह. महेन्द्र हमालले भनेको स्थान प्रहरी प्रभाग बुङमतीको बागमती प्रदेश ०१–००२ झ ६३०९ नम्बर गाडीको सिट कभरको पछाडि गोजीमा नै राखी दिएको हुँ । उक्त मोबाइल को कसले लिई गएका हुन् मलाई थाहा छैन ।’
यसरी ताज इस्लामले इन्स्पेक्टर शाहीसँग गरेको कुराकानी लेनदेनको कुरा रहेको र सो कुराको प्रमाण बाहिर आउने डरले इन्स्पेक्टर शाहीले इस्लामको मोबाइल फोनसमेत गायब पारेको बुझिएको छ ।
प्रहरी इन्स्पेक्टर बिनु कुमारी शाही जोडिएको हनी ट्र्याप प्रकरणमा प्रहरीले आइतबार ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले धनकुटाको महालक्ष्मी नगरपालिका ४ खानीगाउँ स्थायी ठेगाना भई इटहरी उपमहानगरपालिका ३ पशुपति चोकमा बस्ने १९ वर्षीय सुष्मा विश्वकर्मा, सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरका ३२ वर्षीय ताज वा ताज मुल भन्ने तजम्मुल इस्लाम, तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दांगपा घर भएकी २० वर्षीय भिमादेवी थापा, सुर्खेतको सिम्ता गाउँपालिका १ का निलम्बित प्रहरी सहायक हवलदार ३२ वर्षीय महेन्द्र हमाल, सुनसरीको इटहरी नगरपालिका वडा नम्बर ८ का २९ वर्षीय दर्शन पोखरेल र कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर १, मान्मा स्थायी ठेगाना भई तत्कालीन समयमा प्रहरी प्रभाग बुङमतीमा कार्यरत प्रहरी इन्स्पेक्टर बिनु कुमारी शाही विरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेको थियो ।
भएको के थियो ?
ललितपुरका इन्द्र कुमार राई कामको सिलसिलामा इटहरी जाने आउने गर्दा सोही स्थानमा काम गरी बस्ने १९ वर्षीय सुष्मा विकसँग चिनजान भएको थियो । पहिलो पटक मोरङको सुन्दर हरैंचामा रहेको होटेल सेभेन स्टारका कर्मचारीले सुष्मा विकसँग चिनजान गराइदिएका थिए । मदिराले लट्ठ भएका राईले केटी चाहियो भनेपछि होटेलका कर्मचारीले पहिलो पटक एक रातको १० हजार रुपैयाँ दिने गरी सुष्मालाई होटेलमा बोलाइदिएका थिए ।
पहिलो पटक सँगै बसेपछि दोस्रो पटक राई आफैँले सुष्मालाई फोन सम्पर्क गरी २०८१ साउन १२ गते इलामको कन्याममा घुम्नका लागि लगेका थिए । सोही समयमा रात समेत बसी आपसी सहमतिमै शारीरिक सम्पर्कसमेत भएको राईको जाहेरीमा उल्लेख छ । उक्त समय सँगै बसी फर्किएपछि राईले सुष्मालाई ३० हजार रुपैयाँ दिएका थिए ।
पटक पटक फोन र धम्की आउन थालेपछि राईले ती सबै नम्बरहरूलाई ब्लक गरेर सम्पर्कविहीन हुन थाले । पछि ताज मुल इस्लाम भन्ने व्यक्तिले समेत प्रहरीमार्फत फोन गरेर सुष्मासँगको समस्या समाधान नगरेर केस गर्ने धम्की दिए । यहीबिचमा सुष्मा गर्भवती बनेको भन्दै धम्कीसमेत आउन थाल्यो ।
याे पनि …
पक्राउ प्रतिवादीको बयान : इन्स्पेक्टर शाहीले १५ लाख रुपैयाँ लिने सहमति भएको थियाे
त्यसपछि छुट्टिएका सुष्माले साउन १९ गते राईलाई फोन गरी थप रकम माग गरेकी थिइन् । तर राईले थप रकम दिन अस्वीकार गरेपछि दर्शन पोखरेल भन्ने व्यक्तिले पटक पटक फोन सम्पर्क गरी रकम नदिए बलात्कारको मुद्दामा फसाइदिने धम्की दिन थाले ।
त्यसपछि काठमाडौंमा रहेका राईलाई एक्कासि सुष्माले फोन गरी भेट्न बोलाएपछि इन्द्र कुमार राई सुष्मालाई भेट्न गए । सुष्मासँग भेटेर खाना खाई निस्किएपछि भैँसेपाटी पुगेको अवस्थामा प्रहरीसहितकाे टोलीले राईलाई नियन्त्रणमा लियो ।
नियन्त्रणमा लिएर प्रहरी प्रभाग बुङमतीमा लगी हिरासतमा समेत राखेर रकमको बार्गेनिङ भयो । मिलापत्र नगरे जेलमा सड्ने भन्दै इन्स्पेक्टर बिनु शाहीले समेत तर्साउन थालेपछि राई रकम दिन राजी भए ।
साठी लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ ३० लाखमा मिलेपछि इन्द्र ३० लाख रुपैयाँ तिरेर मेलमिलाप गर्न तयार भए । तर रकम नदिई नछाड्ने भन्दै प्रहरी प्रभाग बुङमतीकी इन्स्पेक्टर बिनु शाहीले इन्द्रको गाडी नै त्यहीँ राखिदिइन् ……..
साठी लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ ३० लाखमा मिलेपछि इन्द्र ३० लाख रुपैयाँ तिरेर मेलमिलाप गर्न तयार भए । तर रकम नदिई नछाड्ने भन्दै प्रहरी प्रभाग बुङमतीकी इन्स्पेक्टर बिनु शाहीले इन्द्रको गाडी नै त्यहीँ राखिदिइन् । पहिलो दिन इन्द्रको खातामा भएको ७ लाख रुपैयाँ ताज मुल इस्लामले भनेको भिमा कुमारी थापाको बैङ्क खातामा ट्रान्सफर गरियो भने त्यसको भोलिपल्ट नगद १३ लाख भिमाकै खातामा हालियो । बाँकी १० लाख भने तीन महिनापछि दिने गरी चेक लिएर छाडियो ।
इलाममा भएको घटना भैंसेपाटी प्रहरीबाट पक्राउ भई त्यहीँ मिलापत्र भएको कुरा र प्रहरीको भूमिकासमेत शङ्कास्पद देखिएपछि इन्द्रले सो को जानकारी र उजुरी जिल्ला प्रहरी परिसर ललितपुरलाई गराए । त्यसपछि ललितपुर प्रहरीबाट छानबिनका लागि बोलाएपछि दर्शन पोखरेल त्यहीँबाट भागे । अन्यलाई भने प्रहरी इन्स्पेक्टर शाहीले नै लिएर ललितपुर परिसर गइन् ।
त्यहाँ घटनाको विषयमा इन्द्रले सबै कुरा बताएपछि हनी ट्र्यापमा पारेर रकम असुली गरेको र आपसी सहमतिको यौन सम्बन्धलाई बलात्कार गरेको भन्ने बनाई बार्गेनिङ गरेको थाहा भएपछि सबैलाई नियन्त्रणमा राखियो । इन्स्पेक्टर शाहीलाई भने बोलाएको समयमा उपस्थित हुने गरी छाडियो । यही विषयमा पछि इन्द्र कुमार राईले ललितपुर प्रहरीमा आपराधिक लाभको कसुरमा जाहेरी दिए ।
अनुसन्धानमा खुल्यो हनी ट्र्यापको योजना
ललितपुर प्रहरीले अनुसन्धान सुरु गरेपछि यो घटना बलात्कारको घटना र मिलापत्र नभएर हनी ट्र्याप रहेको खुल्यो । उक्त हनी ट्र्याप घटनाको प्रमुख योजनाकार दर्शन पोखरेल र तजम्मुल इस्लाम रहेको खुल्यो । यो ट्रयापिङको केन्द्रमा सुष्मा विश्वकर्मा थिइन् भने योजना बनाउने, ट्र्यापमा पार्ने र रकम असुल गर्ने योजनामा ताजसँगै बुङमती प्रहरी प्रभागकी इन्स्पेक्टर बिनु कुमारी शाही पनि रहेको खुल्यो ।
ट्रयापिङको केन्द्रमा सुष्मा विश्वकर्मा थिइन् भने योजना बनाउने, ट्र्यापमा पार्ने र रकम असुल गर्ने योजनामा ताजसँगै बुङमती प्रहरी प्रभागकी इन्स्पेक्टर बिनु कुमारी शाही पनि रहेको खुल्यो ……..
प्रहरी हिरासतमा पुगेपछि ताजले दिएको बयानमा यो घटनामा दर्शन पोखरेलको योजना रहेको र त्यसमा आफूले साथ दिएको कुरा उल्लेख छ । त्यसबाहेक राईलाई ट्रयापिङमा पारी असुल हुने रकम इन्स्पेक्टर शाही र अन्य व्यक्तिहरूले आधा आधा बाँड्ने सहमति भएको पनि इस्लामको बयानमा उल्लेख छ ।
इस्लामको मौकाको बयानमै राईबाट आएको रकम आधा आधा बाँड्ने सहमति भएको कुरा उल्लेख छ भने बार्गेनिङ गर्दा ३० लाख रुपैयाँबाट तल नआऊ है भनी इस्लामलाई इन्स्पेक्टर शाहीले म्यासेज गरेको कुरा पनि उल्लेख छ ।
यसरी इलाममा भएको आपसी सहमतिको यौन सम्बन्धलाई बलात्कार भन्दै ट्र्यापमा पारेर रकम असुल गर्ने र गर्न खोज्ने ६ जनालाई ललितपुर प्रहरीले मुद्दा चलाएको छ । मुद्दा चलाएकामध्ये बिनु कुमारी शाही र महेन्द्र हमाल आफ मातहतकै प्रहरी कर्मचारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया