काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका–९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका– ७ आदमटार घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ कपन बस्ने ४१ वर्षीय कार्त्तिकलाल राजवंशी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले रविनलाई काठमाडौं काँडाघारीबाट र पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार तथा कार्त्तिकलाई काठमाडौं दरबारमार्गबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र कार्त्तिकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएकाे प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया