ओली र शंकर पोखरेलको आलोचना गर्दा प्रदेश सांसदको पद धरापमा

लोकपथ
665
Shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलेको विरोध गर्दा प्रदेश सभा सदस्यको पद धरापमा परेको छ ।

पार्टी नेतृत्वको आलोचना गरेका लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरीलाई एमाले जिल्ला कमिटी बाँकेले चौधरीलाई पार्टी सदस्यबाटै निलम्बन गरेको हो ।

जिल्ला कमिटी बाँकेका अध्यक्ष निरक गुरुङले प्रदेश पूर्वउपसचिव तथा हालका सल्लाहकार समेत रहेका सांसद चौधरीलाई निलम्बन गरेका हुन् ।

निलम्बनमा परेका चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई गरेको जग्गादानको विषयमा पार्टीको आलोचना गरेका थिए । उनले सामाजिक सञ्जालमा पार्टीका नेताको प्रवृत्ति र सरकारमा सामेल दल तथा नेताहरुको आलोचना गर्दै आइरहेका छन् । साथै सानानलाई मात्र कानुन लाग्ने भन्दै ठूला नेताहरुले जे गरे पनि हुने भन्दै नेतृत्वको आलोचना गर्दै आइरहेका छन् ।

गत कार्तिक ५ गते बसेको जिल्ला कमिटीको बैठकले उनलाई स्पष्टीकरण सोधेको थियो । तर उनले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएका कारण उनलाई निलम्बन गरिएको अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्याउने मनसायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो । स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ ९७० को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु’, गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता सांसद चौधरीले भने जिल्ला कमिटी भन्दा माथि रहेका कारण आफूलाई उक्त कमिटीले गरेको कारबाही मान्य नहुने बताएका छन् । चौधरी माओवादी धारबाट एमालेमा आएका नेता हुन् । ०७५ सालमा पाटी एकीकरण हुँदा माओवादी रहेका उनी पार्टी विभाजनपछि एमालेतिर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?