सरकारलाई समेत टेरेन हायात होटलले, कर्मचारी निकाल्न थालेपछि होटलमै धर्ना

लोकपथ
868
Shares

काठमाडौं । काठमाडौंको वौद्धस्थित चुच्चेपाटीमा रहेको नेपालको चर्चित पाँचतारे हायात रिजेन्सी होटलका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । पुराना कर्मचारीलाई सेवा सुविधा नदिई निकाल्न थालेपछि उनीहरु आन्दोलित भएका हुन् ।

व्यवसायिक रुपमा सफल मानिएको हायातले कर्मचारीहरुलाई विभिन्न प्रपञ्च रचेर सेवासुविधा कटौती गरी हटाउन थालेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । १० वर्षभन्दा बढी काम गरेका १३५ कर्मचारीहरु १० दिनदेखि आन्दोलन गरिरहेका छन् ।

२ वर्षदेखि आफूहरुले पाउनुपर्ने सेवासुविधा नपाएको भन्दै उनीहरुले श्रम कार्यालय हुँदै श्रम मन्त्रालयसम्म गुनासो गरेका थिए । तर आफूहरुलाई कतैबाट पनि न्याय नमिलेको भन्दै उनीहरुले आन्दोलन थप चर्काएको आन्दोलनमा सहभागी एक कर्मचारीले लोकपथलाई बताए ।

हायात होटेलमा ३ सय ५० जनाको हाराहारीमा कर्मचारी छन् । ३ सय ५० मध्ये १ सय ३५ जना कर्मचारीहरु सेवासुविधा वृद्धि र नियमित रोजगारीको माग गर्दै होटेल बाहिर धर्ना दिइरहेका छन् ।

होटेल व्यवस्थापकले विभिन्न बाहाना बनाउँदै १० वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई एक एक गरि निकाल्ने रणनीति ल्याएपछि आफूहरु आन्दोलित भएको ती कर्मचारीले बताए ।

होटलले पूराना कर्मचारीलाई बहाना बनाएर एक एक गर्दै निकाल्ने र नयाँ भर्ना गर्ने गरेको आन्दोलनरत कर्मचारीहरुको आरोप छ । उनीहरुले २०८० साल साउन १ गते श्रम कार्यालयमा १९ सूत्रीय माग राखेर निवेदन दिएका थिए । श्रम कार्यालयले २१ दिनभित्र आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन भनेपनि होटेल प्रशासनले नमानेपछि उक्त विषय श्रम विभागमा पुगेको थियो ।

श्रम विभागमा पहिलो चरणमा होटल व्यवस्थापन पक्ष र कर्मचारी पक्षबीच वार्ता भएको थियो । तर होटल पक्षले कर्मचारीको पक्षमा कुनै पनि पहल नगरेपछि विभागले श्रम मन्त्रालयमा पठाएर हल खोज्ने प्रयास गरेको थियो ।

‘हामी आफ्ना मागहरु पूरा नभएपछि सुरुमा १९ सूत्रीय माग राखेर श्रम कार्यालयमा गयौँ, त्यहाँ २१ दिनभित्र वार्तामा बोलाउने भनिएको थियो, तर उहाँहरुले वार्तामा नबोलाएपछि श्रम विभाग हुँदै श्रम मन्त्रालयमा उक्त विषय पुग्यो । तर अझै पनि होटेल व्यवस्थापन पक्षले कर्मचारीको जायज मागमा कुनै सुनुवाइ नगरेपछि हामी अहिले आन्दोलनमा उत्रिएका हौँ,’ एक कर्मचारीले भने ।

श्रम मन्त्रालयको श्रम सम्बन्ध शाखाले ३ सदस्यीय वार्ता टोली बनाएको थियो । त्यहाँ नेपाल सरकार, कर्मचारी ट्रेड युनियन र होटलका प्रतिनिधि राखेर वार्ता टोली गठन भयो । श्रम ऐन अनुसार नै गठन भएको उक्त टोलीले गरेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित पक्ष बाध्य हुने भनिएको थियो । तर अन्तिममा होटल व्यवस्थापनले उक्त निर्णयमा असन्तुष्टि जनाउँदै निर्णय कार्यान्वयनमा आनाकानी गरेको कर्मचारीको गुनासो छ ।

‘मन्त्रालयले बनाएको समितिमा हाृटेल व्यवस्थापन आफैँ बसेर पछि त्यही समितिले गरेको निर्णय कार्यान्वयन गर्न उहाँहरुले आनाकानी गर्नुभयो,’ कर्मचारीले लोकपथसँग भने । आफूहरुको काम पूरा नभए निरन्तर आन्दोलनमा उत्रिने आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?