महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

लोकपथ
70
Shares

काठमाडौं । आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ । 

मौन अवधि प्रारम्भ हुनु अगावै प्रचारप्रसारमा जुटेका उनीहरूले मधेस मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन् । 

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेद्वार मैदानमा छन् । यसअघिको निर्वाचनमा विजयी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० चुनाव जित्नैपर्ने दबाबमा छ । गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उमेद्वार बनाएको छ । 

नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचनमा आफूले जित्ने दाबी  गरेका छन् । अघिल्लो निर्वाचनमा  ५८ मतले पराजित उनी यसपटक मतदाताले आफूलाई जिताउनेमा ढुक्क छन्। सोही निर्वाचनमा तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उमेद्वार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय जनता पाटीबाट क्रमशः मोहम्मद मनान खान, र खुरसेद खान तथा राजेशकुमार यादव उमेद्वार छन् । 

यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त  गरेका थिए । सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?