एमालेको कार्यक्रमको भोलिपल्ट रक्सीका बोतल र बियरका क्यानसहित दुई ट्रक फोहोर संकलन भएको थियो

लोकपथ
511
Shares

काठमाडौं । सरकारको नेतृत्व गरेको दल एमालेले गत शुक्रबार आफूहरुले आयोजना गरेको जागरणसभाका क्रममा दरबारमार्गको फोहोर उठाएको दाबी गरेपनि त्यहाँको फोहोर व्यवस्थापन गर्दै आएको काठमाडौ वेस्ट मेनेजमेन्ट प्रालिले सो दाबी झुठोे भएको जनाएको छ । आफूहरुले कार्यक्रमस्थलमा शनिबार बिहान गरेको फोहोर संकलनका क्रममा दुई टन फोहोर संकलन गरी बञ्चरे ल्यान्डफिल साइटमा ढुवानी गरेको पनि सो प्रालिले जनाएको छ ।

योसँगै एमाले आफैले दरबारमार्ग सफा गरेको दाबीमा शंका गर्ने ठाउँ देखिन्छ ।

सो प्रालिले फोहोर संकलन गर्ने क्रममा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्व राजा महेन्द्रको शालिकमा ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू भेटेको जनाएको छ ।

महानगरपालिकाले सोधेको प्रश्नको आइतबार जवाफ दिँदै काठमाडौ वेस्ट मेनेजमेन्ट प्रालिले भनेको छ, ‘दरबारमार्ग क्षेत्रमा फोहरमैला व्यवस्थापनका लागि सधैंझैं बिहान ४ः०० बजेदेखि सफाइकर्मी परिचालन गरिएको थियो । सार्वजनिक संवेदनशीलता भएका स्थानहरूमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्व राजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौँ । हाम्रो कम्पनीका कर्मचारीहरूले ६.७५ टन क्षमताका ट्रिपरहरू प्रयोग गरी २ ट्रक फोहरमैला संकलन गरी बञ्चरे ल्यान्डफिल साइटमा ढुवानी गरेका थिए ।’

उक्त कार्य Golden TV, दरबारमार्ग ट्राफिक प्रहरी, तथा काठमाडौं महानगर प्रहरीको निगरानीमा सम्पन्न गरिएको पनि सो प्रालिले जनाएको छ ।

फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिबाना तिराउने प्रयास गरिरहेको छ । एमाले नेताहरुले जरिवाना तिर्नुको साटो यसलाई महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को प्रोपोगान्डाको रुपमा लिँदै आइरहेका छन् ।

एमालेको सभालगत्तै महानगरपालिकाले जरिबानाको पत्र पठाएको थियो भने दुई दिनपछि पार्टीको मुख्यालयमै अर्को पत्र दिन गएको थियो । तर एमालेले लिन अस्वीकार गरेको थियो । एमाले कार्यालय सचिवले कार्यक्रमको आयोजना उपत्यकाका ३ जिल्ला कमिटीले गरेको भन्दै केन्द्रीय कार्यालयसँग असम्बन्धित भएको भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए । एमालेले पत्र बुझ्न नमानेपछि महानगर प्रहरीले एमालेको इमेलमा पत्र पठाइसकेको छ ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले महानगगर प्रहरीले भौतिक रूपमा गएर पत्र बुझाउन गएपनि लिन नमानेकाले महानगरपालिकाको नगर प्रहरी बलको आधिकारिक इमेलबाट नेकपा एमाले पार्टीको आधिकारिक इमेलमा पठाइएको बताए ।

जागरणसभाका आयोजकमध्येको एक कमिटी नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला महानगरले जरिबाना तिराउन खोज्नुको कुनै तुक नरहेको बताउँछन् । कार्यक्रम सकिएपछि आफूहरुले सबै सरसफाइ गरेर हिँडेको उनको दाबी छ ।
बालेन र एमालेबीच केही समययता आरोप–प्रत्यारोपको सिलसिला चलिरहेको छ । काठमाडौं महानगरको फोहोर व्यवस्थापन, नदी किनारका बस्ती, धरहरामा खुलाइएको पार्किङ, गिरीबन्धु टी–इस्टेटलगायतको विषयमा बालेन एमाले र केपी ओलीमाथि फेसबुकमा खनिँदै आएका छन् ।

केही एमाले नेताहरुले मेयर बालेन शाह एमालेविरुद्ध परिचालित रहेको आरोप लगाएका छन् । कार्यक्रम नसकिँदै पत्र लेखेर गरेर बालेनले स्टन्टबाजी गरेको उनीहरुको दाबी छ ।

एमालेका महासचिव शंकर पोखरेलले कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन गाडी पठाइदिन अनुरोध गरिएकोमा सहयोग गर्नुको सट्टा जरिवानाको प्रचार गरेको भन्दै बालेनप्रति आक्रोश पोखेका थिए । जागरणसभा सकिएकै राति उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउन महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिबानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’

महानगरले हतार–हतारमा जरिबानाको पत्र सार्वजनिक गरे पनि त्यसको कुनै औचित्य नभएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम टिप्पणी छ । उनले भनेका छन्, ‘कार्यक्रम सकिएलगत्तै हाम्रा स्वयंसेवकले फोहोर सबै सफा गरिसकेका थियौं । हामीले फोहोर हटाइसकेपछि त्यो पत्रको के औचित्य हुन्छ ? त्यो प्रतिशोधपूर्ण भयो भन्ने हाम्रो बुझाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?