काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधवार २१औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताएका हुन् ।
उनले नेपालमा समुदायपिच्छे नै पृथक प्रकारको संस्कृति रहेको उल्लेख गरे । उनले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनै पनि देशमा नरहेको उल्लेख गरे । उनले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रुपमा प्रतिविम्बित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपिच्छे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेषता छन् । जुन कुरा यहाँहरुले कायम राखी आउनुभएको छ । र मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो । ’
उनले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताए । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणको लागि सबै एकजुट भएर लाग्न उनले आग्रह समेत गरे । ज्यापु दिवस (योमरि पुन्ही) मंसिर ३० गते मनाइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया